काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका अधिकांश स्थानमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण केही दिन नेपालको मौसम प्रभावित हुने भएको हो ।
काठमाडौंमा आज दिनभर मौसम बदली रहने र दिउँसो पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।
आज र भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा प्रदेश १ (मंगलबारदेखि) का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा मेघ गर्जन/चट्यांग र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
बुधबार प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा मेघ गर्जन/चट्यांग र हावाहुरीसहित भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।