काठमाडौं । आज देशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन हालसम्म पनि सक्रिय अवस्थामा नै रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको दक्षिण बिहार तथा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।
आज दिउँसो प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश २ का एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाले जनाएको छ ।
आज राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको पनि संभावना छ ।
प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशको चुरे र तराई भई बहने केही स–साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाब हुन सक्ने जनाइएको छ । सोमबार दिउँसोसम्म उल्लेखित नदीहरुका तटीय क्षेत्रहरु तथा डुबान हुने क्षेत्रहरुमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।