काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उक्त चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएर उत्तर-उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले यसको नेपालमा उल्लेखनीय प्रभाव नरहने देखिन्छ ।
हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही ती पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।