भोलिदेखि मौसममा सुधार आउने, यस्तो रहने छ आजको मौसम

काठमाडौं । पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि (शुक्रबार) देखि क्रमिक सुधार हुने भएको छ ।

उक्त मौसमी प्रणाली शुक्रबारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

हाल देशको सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । साथै सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज (बिहीबार) प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

देशको पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रही देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स