काठमाडौं । ‘पर्यटन, संस्कृति र खाना’ नाराका साथ कास्कीको पोखरामा यही चैत २९ गतेदेखि फेवा नववर्ष महोत्सव, २०८१ आयोजना हुनेभएको छ । होटल संघ पोखराले आज पत्रकार सम्मेलन गरी तीन दिनसम्म चल्ने सो महोत्सवमा रैथाने एवम् परम्परागत खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकी, लोकदोहरी, पर्यटक दौड प्रतियोगितालगायत पर्यटन प्रवद्र्धनसँग सम्बन्धित विविध कार्यक्रम प्रस्तुत हुने जनाएको छ ।
पोखराको ड्यामसाइड चोकदेखि खहरेचोकसम्म करिब साढे तीन किलोमिटरसम्म आयोजना गरिने मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हँुदा कुनै पनि किसिमको शुल्क नलाग्ने आयोजकले स्पष्ट पारेको छ । यसैगरी पोखराका होटलले महोत्सव अवधिभरका लागि यसअघि लिँदै आएको सेवा शुल्कमा २० प्रतिशतका दरले छुट दिने निणर्य गरेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
अध्यक्ष सुवेदीले १९औँ संस्करणअन्तर्गत हुन गइरहेको फेवा महोत्सवमा पोखरा र गण्डकी प्रदेशका दुई लाख स्थानीय बासिन्दासहित अन्य स्वदेशी एवं विदेशीसमेत गरी जम्मा तीन लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बताए ।
होटल संघ नेपालका अध्यक्ष विनायक शाहले औपचारिकरूपमा पर्यटकीय राजधानी घोषणा भइसकेपछि पोखरामा हुन गइरहेको महोत्सवलाई सफल तुल्याउन तीनै तहको सरकारसहित सम्बद्ध क्षेत्रका सबै पक्षबीच सहयोग र सहकार्य भइरहेको जानकारी दिए । महोत्सव ऐतिहासिकरूपमा सफल हुने उनको विश्वास छ ।
‘पर्यटन प्रवद्र्धन एक पटक गरेर पुग्दैन’, उनले भने ‘हरेक वर्ष हरेक समयमा गरिरहनु पर्छ । फेवा महोत्सव गरिनै रहेको बताउँदै १० लाख पर्यटक आउँदा खुशी भइरहेका छौं, हामीसँग त्यसको तीन गुणा क्षमता धान्न सक्ने पूर्वाधार छ ।’
२ सय किलोमिटरको यात्रा १४÷१५ घण्टा लगाएर कुन पर्यटक आउँछ भन्दै उनले भने ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपनि यसको खासै उपयोग हुन सकेन ।’
होटल संघ पोखराका महासचिव राजेन्द्र ढकालले कोभिड–१९ सङ्क्रमणका कारण प्रत्यक्ष प्रभावित मुलुकको होटल व्यवसायलाई लयमा फर्काउने सन्दर्भमा हुन गइरहेको फेवा महोत्सवबाट आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।
पोखरामा अहिले पाँच खर्बको लगानीमा बनेका एक हजार २०० होटलमा ४० हजार बेड रहेको र १५ हजार नेपालीले रोजगारी पाएको होटल संघ पोखराका अध्यक्ष सुवेदीले जानकारी दिए । कोभिड–१९ सङ्क्रमणपछि पोखराका करिब २५ प्रतिशत होटल व्यवसायी पेसाबाट विस्थापित भएको र करिब पाँच हजारले प्रत्यक्ष एवं अप्रत्यक्षरूपमा रोजगारी गुमाएको उल्लेख गर्दै आयोजक पक्षले आसन्न पोखरा महोत्सवलाई थप उपलब्धिमूलक बनाउने अभियानमा साथ दिन सबैसँग अनुरोध गरेको छ ।