साठी मिटर माथिबाट खसेको हामखोला झरना आकर्षणको केन्द्र बन्दै

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्ग छेवैमा सङ्लो पानी झर्झर् झर्दै झरिरहेको छहरा । साठी मिटर माथिबाट झरेको पानी बज्रिन्छ छहराको फेंदीको सुन्दर पोखरीमा । छहरामा लहराउँदै झरेको पानीमा सूर्यको किरणसँगै देखिने इन्द्रेणीले झनै यहाँ सुन्दरता थपिदिन्छ । मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा रहेको त्यही सुन्दर आकाशे छहरा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

बर्खायाममा बोलमा झरनाको पानी पदमार्गसम्मै आइपुग्छ । पदमार्ग छेवैमा पर्ने भएकाले पदमार्गमा आउने अधिकांश पर्यटक एकछिन रोकिएरै झरनाको मज्जा लिने गरेका छन् । कोही यही झरनासँगै सेल्फी खिच्ने गर्दछन् । पदमार्गमा आउने विभिन्न देशका पर्यटकदेखि विभिन्न जिल्लाबाट आएका आन्तरिक पर्यटक मात्र नभई यही पालिकाका विभिन्न ठाउँका स्थानीयवासीसमेत यस झरनासम्म आउने गरेको स्थानीयवासीको भनाइ छ । झरनाको प्राकृतिक सुन्दरता नियाल्न तथा झरनासँग रमाउनका लागि दैनिक २०० जनाको हाराहारीमा पर्यटक आगमन भइरहेको छ । चाडपर्व र बिदाको समयमा यसको सङ्ख्या दोब्बरजस्तै हुने गरेको मस्र्याङ्दी गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताए ।

अझै यस झरनाको प्रचारप्रसार गर्न सकेमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र यहाँका स्थानीयवासीको आयआर्जनमा समेत वृद्धि हुने यस गाउँपालिकाका स्थानीयवासी सरोज गुरुङले बताए । जति यस झरनाको बारेमा सुनेको थिएँ, प्रत्यक्ष आफैँ यहाँ आइपुग्दा त्यो भन्दा बढी राम्रो रहेछ । यस झरनामा आइपुग्दा आनन्द र मन फुरुङ्ग भएको आन्तरिक पर्यटक अमृता तामाङले बताए । यस्तै अर्का आन्तरिक पर्यटक सन्देश यादवले भने, ‘स्वर्ग हेर्न अन्त जानु नपर्ने रहेछ, यस्तै झरनामा आइपुग्दा र हेर्दा स्वर्ग पुगेझैं भएको छ ।’ यहाँ आइपुगेपछि फर्किनै मन नलागेको र झरनासँगै रमाइराख्ने चाहना भएको उनको भनाइ छ । यहाँ उहाँहरुजस्ता संयौँ युवायुवतीको भीड लाग्ने गर्दछ । झरना हेर्नका लागि पदमार्गमा आउने पर्यटकबाहेक पनि कोही मोटरसाइकलमा त कोही जीप तथा बस रिजर्भ गरेरै पनि आउने गरेका छन् ।

कोरोनाले सुनसान बनाएको लामो समयपछि असोज महिनाबाट दैनिक पर्यटक आगमन वृद्धि भइरहँदा यहाँका होटलमा आम्दानीसमेत वृद्धि भइरहेको छ । झरनामा आउने पर्यटक र यस पदमार्गमा आउने पर्यटकलाई लक्षित गरी उक्त क्षेत्र आसपास दर्जनौं होटल तथा रेष्टुरेण्ट सञ्चालनमा छन् ।

दुई वर्षअघि गाउँपालिकाले पर्यटकलाई मध्यनजर गर्दै करिब १० लाख लागतमा सो झरनासम्म जाने सिँढी र फलामे पुललगायतका पूर्वाधार निर्माण गरेको थियो । यस झरनामा पछिल्लो समयमा बाह्य तथा आन्तरिक पर्यटकको चाप बढ्दै गएपछि थप पूर्वाधार निर्माण गर्ने योजनामा गाउँपालिका रहेको उपाध्यक्ष विकले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स