काठमाडौं । दशैं शुरु भइसकेको छ । आजदेखि निजीलगायत सरकारी कार्यालयहरु पनि बन्द भइसकेका छन् । दशैं परिवार, आफन्त, साथीभाइसँग रमाइलो गरेर मनाउने पर्वका रुपमा रहेको छ । मिठो मसिनो खाने र राम्रो लगाउने पर्वको रुपमा दशैं मनाइन्छ । पछिल्लो समय दशैंमा घुमफिर गर्नेको संख्या पनि बाक्लिदोँ छ ।
कोभिडका कारण करिब २ वर्ष नेपालीहरूले घुमफिरको मौका विरलै पाएका छन् । पछिल्लो लामो विदा हुने भएकाले दशैं घुम फिरका लागि राम्रो अवसरको रुपमा लिने गरिएको छ । वैदेशिक पर्यटन गतिविधि ठप्प रहेको अवस्थामा स्वदेशी पयर्टन नआउदा थलिएको पर्यटन व्यावसायलाई पनि केही राहत दिन मिल्छ । यी हुन सक्छ नेपालका केही घुम्न योग्य गन्तव्यः
नगरकोट
काठमाडौं उपत्यका बासीका लागि नजिकै र उपयुक्त पर्यटकीय गन्तव्य हो, नगरकोट । काठमाडौं नजिकै २ हजार ७५ मिटर उचाइमा रहेको यो स्थान रमणीय छ । मौसम सफा भएको बेला यहाँबाट उत्तरतर्फ मनमोहक हिमालका चुचुराहरू लहरै देख्न सकिन्छ । नगरकोटबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्यसँगै धौलागिरी, कञ्चनजंगा, मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर, चोयु, ल्होत्से र मकालु लगायतका थुप्रै हिमश्रृङ्खलाहरू समेत देख्न पाइन्छ ।
यहाँ होटल तथा लज, विशिष्ट तारे होटलहरू पशसस्त मात्रमा रहेकाले नगरकोटमा खानपान र बस्नका लागि राम्रो प्रबन्ध छ । काठमाडौंदेखि करिब ३२ किलोमिटरको दूरीमा रहेको यो स्थानमा परिवारसँग दशैं मनाउनका लागि उत्कृष्ट विकल्प हुन सक्छ ।
धुलिखेल
काभ्रेमा अवस्थित धुलिखेल पछिल्लो समय नेपाली पर्यटकहरुको आकर्षक केन्द्रको रुपमा विकास भएको छ । उपत्यकाबाट करिब ३० किलोमिटर दूरीमा रहेको यो क्षेत्र पछिल्लो समय होटल, लज, रिर्सोट तथा होमस्टेहरूले खुलेका छन् । जसले पर्यटकको बसाइँलाई व्यवस्थित र स्तरीय बनाउन मद्दत गरिरहेको छ । त्यसो त बजार नजिकै रहेका धार्मिक तथा पर्यटकीय स्थलहरू तिमाल, हजार छिडी, नमोबुद्ध र उत्तरतर्फ साँघाको शिव मूर्तिले समेत धार्मिक पर्यटकहरू तानिरहेको छ ।
सुन्दरीजल-चिसापानी
काठमाडौं उपत्यकाको उत्तर-पूर्वी क्षेत्रमा पर्ने सुन्दरीजल–चिसापानी हाईकिङका लागि प्रसिद्ध छ । काठमाडौं उत्ययकादेखि नजिक रहेको यस हाईकिङ रुटमा पनि एक रात बिताउन तथा घुमफिर गरेर रमाइलो गर्न सकिन्छ ।
शिवपुरी राष्ट्रिय निकुञ्जको छेउ अघिल्लतिर नै देखिने लाङ्टाङ, गणेश र मनास्लु लगायतका हिमश्रृङ्खलाहरूले मन लोभ्याउछ । पछिल्लो समय यहाँ खुलेका होमस्टे, साना तथा मझौला होटल तथा लज र रिर्सोटहरूमा खान र बस्न राम्रो प्रबन्ध छ । उपत्यका मै रमणीय दृष्यमा केही दिन रम्न र हराउन चाहनेहरूका लागि यो क्षेत्र पनि उपयुक्त विकल्प बन्न सक्छ ।
ककनी
काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित ककनी नुवाकोटकै प्रसिद्ध पर्यटकीय स्थल हो । ककनी काठमाडौंदेखि करिब २० किलोमिटरको दूरीमा मात्र छ । समुन्द्र सतह देखि १८२८ मिटरको को उचाईमा रहेको ककंनी चिसो र स्वच्छ हावा पानीका लागि चर्चीत छ ।
यहाँ मल्लकालीन पुरातात्विक दरबार (बसन्ती दरबार), अबिरल बगिरहने फुङ्गस्फुङ्घे झरना, ककनी हाईटबाट देखिने हिमालका दृश्यहरुले पर्यटकहरुको मन लोभ्याएको छ । त्यसैगरी कृषिमा आत्मनिर्भर बन्न तथा कृषि पर्यटनको विकासको निम्ति यहाँ विशेष गरी रेम्बो ट्राउट माछा, किबि र स्ट्रबेरिको उत्पादन तथा बजारीकरण हुँदै आएको छ । बसोबासका लागि होमस्टे तथा होटलरूको राम्रो प्रबन्ध छ ।
दामन
मकवानपुरको थाहा नगरपालिकामा पर्ने पर्यटकीय गन्तव्य दामन चिरपरिचित स्थान हो । समुद्री सतहबाट २ हजार २ सय ५० मिटरको उचाइमा रहेको यो क्षेत्र चिसो हावापानी र अनुपम प्राकृतिक सौन्दर्यका कारणले प्रसिद्ध छ । भौगोलिक तथा सांस्कृतिक रूपले दामन प्रकृतिको सुन्दर उपहार मान्न सकिन्छ । काठमाडौंबाट ५६ किलोमिटर र हेटौंडाबाट ५५ किलोमिटरको दूरीमा रहेको छ दामन पर्यटकीय क्षेत्र ।
नेपालको पहिलो भ्यू टावर, जसको स्थापनाको नाम शीतल भ्यू टावर थियो, त्यो पनि दामनमै रहेको छ । यस भ्यू टावरबाट पालुङ, दामन, बज्रवाराही, चित्लाङका फाँटलगायत वरपरका स्थलको दृश्यावलोकनका साथै यहाँबाट संसारका १० अग्ला हिमालमध्ये ८ वटा हिमाललाई एकैपटक अवलोकन गर्न सकिन्छ । संघीय सरकारले घोषणा गरेको नेपालका १ सयवटा पर्यटकीय गन्तव्यहरूमध्ये दामन पनि एक हो ।
पछिल्लो समय दामनमा यस्ता थुप्रै होटल, रिर्सोट तथा होमस्टेहरू खुलेका छन् । खर्चका हिसाबले पनि त्यति महँगो छैन । दामन रमाइलो छ ।
पोखरा
नेपालकै सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य हो, पोखरा । प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखराले स्वदेशी र विदेशी पर्यटकको आकर्षकको केन्द्र हो ।
काठमाडौंदेखि २०० किलोमिटर दूरीमा रहेको पोखरा पुग्न करिब ५ घण्टा समय लाग्छ । घुम्नकै लागि जानेहरूका लागि तीन–चार दिन बिताउन यो निकै राम्रो र उपयुक्त गन्तव्य हो ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण र हिमालको काखमा रहेको पोखरामा प्रसिद्ध तालतलैयादेखि गुफा, झर्ना र धार्मिक मठमन्दिरहरू समेत रहेका छन् । फेवातालको बीचमा रहेको तालबाराही यहाँको प्रसिद्ध मन्दिर हो । यस्तै, बेगनास ताल र रूपाताल सहित महेन्द्र गुफा, चमेरे गुफा तथा पातले छाँगो (डेबिड फल) पोखराका प्रसिद्ध पर्यटकीय क्षेत्रहरू हुन् ।
सराङकोट डाँडाबाट प्याराग्लाइडिङको मज्जा लिने सुविधा पनि छ । एडभेञ्चर पर्यटनमा रमाउनेका लागि दशैं बिदाको सदुपयोग गर्ने एक उपयुक्त विकल्प पोखरा हुनसक्छ । पोखरा सुविधासम्पन्न सहर भएकाले पनि यहाँ बस्न र खानका लागि राम्रो प्रबन्ध छ ।
सौराहा
प्रकृति पर्यटनका लागि चितवनको सौराहा निकै प्रसिद्ध छ । जंगल सफारी र हात्ती चढेर निकुञ्जको अवलोकन तथा वन्यजन्तुहरूलाई प्रत्यक्ष हेर्न पाउनु यहाँको विशेषता हो । त्यसो त यहाँ केही दिन खान बस्न र रहनका लागि समेत निकै रमाइलो छ । विश्वकै दुलर्भ एक सिंहे गौंडा पनि सौराहामा देख्न सकिन्छ ।
यहाँ होटल तथा लजहरूको पनि सुविधा सम्पन्न छन् । २/३ दिन घुमफिर गर्ने प्याकेज बनाएर सौराह जान सकिन्छ ।
लुम्बिनी
रूपन्देहीमा अवस्थित लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो । विश्वका प्रमुख धर्महरूमध्ये एक बुद्ध धर्मका प्रणेता महामानव सिद्धार्थ गौतम शाक्यमुनी बुद्धको जन्मस्थान लुम्बिनी नेपालमा रहेको कारण विश्वमै नेपालले बुद्ध जन्मेको देशको महत्वपूर्ण संज्ञा पाएको छ ।
विश्वभरका सवा अर्बबौद्धमार्गीहरूको सबैभन्दा ठूला पवित्र तीर्थस्थलको रूपमा प्रख्यात लुम्बिनी धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका दृष्टिले विश्व जगतको आर्कषणको केन्द्रको रुपमा प्राचीनकाल ई.पू दोस्रो शताब्दीदेखि आजसम्म रहिआएको इतिहास पाइन्छ ।
लुम्बिनीका प्रमुख सम्पदामा मायादेवी मन्दिर भित्रको बुद्धकालदेखि विभिन्न कालमा निर्माण गरिएका विहारको भग्नावशेष विभिन्न कालको सादा तथा कलात्मक ईटाहरु, बुद्धको जन्मसमय बृतान्तयुक्त प्रशस्त मूर्ति, अभिलेखयुक्त महत्वपूर्ण प्रमाणका रुपमा इशापूर्व २४९ मा बौद्ध सम्राट अशोकद्वारा स्थापना गरिएको छ । अशोक स्तम्भ जो सम्राट अशोकले आफ्नो जीवनकालमा आफै उपस्थित भई स्थापना गरेका ६४ स्तम्भमध्ये लुम्बिनीको अशोक स्तम्भमा बुद्ध जन्मस्थान लुम्बिनी र स्वयं सम्राट अशोकका बारेमा किटानीका साथ उल्लेख गरिएको अभिलेख सहितको भएकाले सबैभन्दा महत्वपूर्ण मानिन्छ ।
तराईको तल्लो भूभागमा पर्ने यो क्षेत्र हुँदै पाल्पाको तानसेन, रानीमहलसँगै गुल्मीको रेसुङ्गासम्म पुग्न सकिन्छ । धार्मिक पर्यटकका लागि लुम्बिनी एक उत्कृष्ट गन्त्वयको रुपमा रहेको छ ।
यहाँ पनि खानपान र बसोबासको कुनै समस्या छैन, प्रशस्त खुलेका होटल, लज तथा होमस्टेहरूले राम्रै पाहुनाको सेवा सत्कार गरिरहेका छन् ।
जनकपुर
धनुषास्थित जनकपुरधाम एक प्रसिद्ध पर्यटकीय क्षेत्र हो । प्राचीन मिथिलाको राजधानी जनकपुरको जानकी मन्दिर प्रदेश–२ को प्रमुख पर्यटकीय स्थल हो । धार्मिक र सांस्कृतिक हिसाबले धनी मैथिली सभ्यता धरोहरको रूपमा रहेको यो मन्दिर हिन्दूहरूको पवित्र तीर्थस्थलमा पर्छ ।
मुगल शैलीमा निर्मित जानकी मन्दिर कलाकौशलका हिसाबले पनि भव्य र आकर्षक छ । जानकी मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न प्रयास गरिरहेको छ । राम मन्दिर, गंगासागर पोखरी जनकपुरका थप आकर्षण हुन्छ ।
काठमाडौंबाट २६५ किलोमिटर दूरीमा रहेको जनकपुर आठ घण्टाको बस यात्रामा पुगिन्छ । साथै, त्यहाँ दैनिक हवाईजहाज पनि चल्छ ।
स्वर्गद्वारी
प्यूठानको स्वर्गद्वारी धार्मिकसँगै प्राकृतिक सौन्दर्यको खानी हो । पुराण अनुसार पाँच पाण्डवले स्वर्ग जाँदा अन्तिममा प्रयोग गरेको बाटो मानिंदै स्वर्गद्वारी नाम रहन गएको हो । यहाँबाट अन्नपूर्ण, धौलागिरि, मनास्लु लगायत हिमाल हेर्न सकिन्छ ।
काठमाडौंबाट रोल्पा जाने बस चढेर प्यूठानको भिङ्ग्रीमा ओर्लने, अनि भिङ्ग्रीबाट तीन घण्टाको पैदल यात्रापछि स्वर्गद्वारी पुगिन्छ । निजी सवारीसाधन स्वर्गद्वारी मन्दिरसम्मै पुग्छ । काठमाडौंबाट नेपालगन्जसम्म हवाई यात्रा गरी त्यहाँबाट रोल्पाको बस चढ्न पनि सकिन्छ ।
खप्तड
समुन्द्री सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड भू-स्वर्गको उपमाले चिनिन्छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको शिरका रुपमा रहेको खप्तडमा एक साताको भ्रमण योजना बनाएर जाने हो भने आरामसँग घुमफिर गरी फिर्ता हुन सकिन्छ । अझ लामो बिदा मिलाउन सक्नेले खप्तड र बडिमालिका एकै पटकमा यात्रा गर्न सक्नुहुन्छ ।
रारा
रारा आम नेपालीका लागि अब सहज गन्तव्य बनिसक्यो । स्थानीय व्यवसायीले यहाँ प्याकेज समेत शुरु गरेका छन् । होमस्टेहरु खुलेका छन् । समुन्द्री सतहतबाट २९९० मिटर उचाइमा रहेको रारामा स्थल वा हवाई दुबै मार्गबाट यात्रा गर्न सकिन्छ ।
नेपालगन्जबाट हवाईजहाजहरु मुगुको ताल्चा विमानस्थलसम्म जाने गर्छन् । यहाँबाट छोटो पदयात्रापछि रारा पुग्न सुकिन्छ । तर, लामो बिदा मिलाउन सक्नेका लागि जुम्लाको सदरमुकामबाट रारासम्मको पदयात्रा रोमाञ्चक बन्न सक्छ । जुम्लाबाट तीन दिनको पदयात्रापछि रारा पुग्न सकिन्छ ।
जुम्लाको सदरमुकाममा एक दिनको बसाइपछि रारा यात्रा शुरु गर्न सकिन्छ ।
कालिन्चोक
काठमाडौंबाट दुई दिनको समय छुट्याउने हो भने सजिलै फिर्ता हुन सकिने गन्तव्य हो दोलखाको कालिन्चोक । काठमाडौंबाट हिँडेको पहिलो दिनमै दोलखा सदरमुकाम चरिकोट पुगी त्यहाँबाट भिमसेन मन्दिरको दर्शन गर्न सकिन्छ ।
सोही दिन बास बस्न कालिन्चोकको तल्लो स्टेशन कुरी बजार पुग्न सकिन्छ । भोलिपल्ट बिहानै कालिन्चोक भ्रमण गरी सूर्योदयको रोमाञ्चक दृष्यावलोकन यहाँबाट गर्न सकिन्छ । सोहीदिन चरिकोट हुँदै पुनः गन्तव्यमा फर्किन सकिन्छ ।