काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्म ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११४.९९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको हो । पर्यटकहरूको संख्यामा सुधार भएसँगै आम्दानी बढ्न गई खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३३.८२ प्रतिशत बढेर ७ करोड ५९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल आम्दानी ३५.०१ प्रतिशत बढेर ६ करोड ८२ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ४८.६० प्रतिशत बढेको छ भने कुल खर्च ३८.९८ प्रतिशत बढेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ २३ पैसा बढेर ५ रुपैयाँ ३२ पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ९९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५७ गुणा रहेको छ ।
६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष भने १ करोड ८० लाख रुपैयाँ ऋणात्मक रहेको छ ।