सिन्ती झरनामा दैनिक २०० को हाराहारीमा आन्तरिक पर्यटक घुम्न आउँदै

नारायणगढ । नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका–९ मा रहेको यस झरना जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै २४ किलोमिटर पूर्वमा पर्छ ।

कालिका–९ का वडाध्यक्ष हेमबहादुर क्षेत्रीका अनुसार सिन्ती झरनाको प्रचारप्रसार हुन थालेपछि यहाँ पर्यटक आउन थालेका हुन् । भरतपुर, रत्ननगर, गैँडाकोट, खैरहनी, सौराहा, हेटौँडा, तनहुँसम्मका आन्तरिक पर्यटक झरना हेर्न तथा नुहाउन आइरहेका छन्, उनले भने, यतिबेला दैनिक २०० को हाराहारीमा आन्तरिक पर्यटक झरनामा आउँछन् । युवायुवती यहाँ आएर गर्मी छल्नेदेखि तस्वीर लिने, टिकटक बनाउने तथा भिडियो लिने गर्दछन् ।

कालिकाको शक्तिखोर–सिद्धि सडकखण्डअन्तर्गत दोगराबाट साढे दुई किलोमिटरको पैदल यात्रापछि सिन्ती झरना पुगिन्छ । सिन्ती झरनासम्म मोटर बाटो पुगेको छैन । यहाँको मोटर बाटोबाट ४० मिनेट उकालोे हिँडेपछि झरना पुगिने वडाध्यक्ष क्षेत्रीले बताए । कोरोना महामारीका कारण लामो दूरीका पर्यटकीय गन्तव्यमा जाने वातावरण नहुँदा युवापुस्ताको आकर्षण स्थानीय सिन्ती झरनामा बढिरहेको वडा सदस्य लालबहादुर गुरुङले बताए । चार वर्षअघिसम्म यसको खासै चर्चा थिएन, जनप्रतिनिधि आएपछि झरनाको प्रचार हुन थालेको हो । त्यसपछि आन्तरिक पर्यटक आउन थालेका हुन्, गुरुङले भने ।

महाभारत पर्वत शृङ्खलाअन्तर्गत सिन्तीखोलाको मुहानबाट निस्किएकाले यसलाई सिन्ती झरना भनिएको उनले बताए । झरनाको लम्बाइ करिब ५० मिटर रहेको बताइन्छ । सौराहाबाट पथप्रदर्शक र केही आन्तरिक पर्यटक लिएर झरना पुगेका पर्यटन व्यवसायी विजय लामाले झरना अत्यन्तै आकर्षक र सुन्दर रहेको बताए । उनले भने, यसले आन्तरिक पर्यटक मात्र होइन, भोलिका दिनमा सौराहा आउने बाह्य पर्यटकलाई पनि लोभ्याउन सक्नेछ ।

उनले माथि डाँडाबाट आएको चिसो पानीमा नुहाउँदा आनन्दको महसुस हुने बताए। गर्मी छल्न र मन बहलाउनका लागि उक्त झरना पर्यटकीय गन्तव्य बन्न सक्ने र यसले आन्तरिक पर्यटक मात्र होइन, विदेशी पर्यटकलाई समेत लोभ्याउन सक्ने उनले बताए । उनले भने, सौराहाबाट पर्यटक लैजान सकिन्छ, तर त्यहाँ उद्यान, होटल, खानेपानी र शौचालयको राम्रो प्रबन्ध हुन जरुरी छ, बाह्य पर्यटकले सुरक्षित महसुस गर्नलाई त्यहाँको सुरक्षा व्यवस्था गर्न प्रहरी बिटको स्थापना गर्नुपर्छ ।

नगरपालिकाका सूचना अधिकारी अच्युतराज रेग्मीले गुरुयोजना बनाएर झरनाको विकास र प्रचारप्रचार गर्ने तयारी भइरहेको बताए। उनका अनुसार झरनाको गेट निर्माण, बाटोघाटो सुधार, सरसफाइ, विश्रामस्थललगायतका संरचना निर्माण गर्ने गरी गुरुयोजना बनाउन लागिएको छ । झरनास्थलसम्म बिजुली बत्तीको व्यवस्था, झरना जाने पैदलमार्ग सुधार, व्यवस्थित शौचालय निर्माण गरी यसको प्रचारप्रसारसम्मको भूमिका बढाउने गरी योजना तयार पारिरहेको उनले बताए । उनले भने, यसका लागि नगरपालिकाले कार्यविधि बनाउँदैछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स