सहज बन्दै पर्यटन व्यवसाय, व्यवसायी उत्साहित

काठमाडौं । होटल संघ नेपाल(हान) ले कोरोनाका कारण लामो समयदेखि थला परेको पर्यटन क्षेत्रको सम्भावनाको ढोका खुलेको जनाएको छ । होटल उद्योग नेपाल सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिषा उपलब्ध गराउने, नाका खोल्ने, क्वारेन्टिन बस्नु नपर्ने जस्ता कार्यबाट उत्साहित भएका उल्लेख गरेको छ ।

सम्पूर्ण सेवाहरू बजारमा बढ्ने मागका आधारमा सञ्चालनमा ल्याउने हानले विज्ञप्ति मार्फत उल्लेख गरेको छ । ‘साथै विदेशबाट खोपको पूर्ण मात्रा पुरा गरी भ्रमणमा आउने पाहुनाहरुलाई खोपको मात्रा पूरा भएका हाम्रा करिब ९५ प्रतिशत भन्दा बढी अग्रपंक्तिमा रही खटिने कर्मचारी तथा कामदारहरुबाट सेवा सुविधा उपलब्ध हुने र यसबाट संक्रमण पनि न्यून हुने हामीले ठानेका छौं ।

विश्व पर्यटन दिवस २०२१ को अवसरमा सेवा सुविधा उपलब्ध गराउन हामी सम्पूर्ण पर्यटन व्यवसायी पर्यटनका लागि एक स्वर गरी अगाडि बढ्ने पनि यसैसाथ प्रतिवद्धता व्यक्त गर्दछौं ।’

मुुलुकमा अहिले पहिलो वा दोस्रो गरी करिब ४० प्रतिशत भन्दा माथि नेपाली नागरिकहरूले कोभिड विरुद्धको खोप लगाइसकेको हुँदा अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई रेड जोनबाट हटाउन सरकारी तवरबाट यथाशक्य पहल गरिनु पर्ने हानको माग छ ।

सरकारबाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्था सम्बन्धी आदेश २०७८ को शिघ्र पूर्ण रुपमा कार्यान्वयन र कतिपय द्विविधा भएका विषयहरुमा समेत थप स्पष्ट हुने गरी सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई १ महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अविलम्व लागू गरी पर्यटन पुनरुत्थानको लागि सहजीकरण गर्न अनुरोध गर्दछौं ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स