काठमाडौं । गुण एयरलाइन्सका विमानहरूको उडान रोकिएको छ । सरकारले गुण एयरलाइन्सको ७ वटा विमानको उडान रोक्ने निर्णय गरेको हो । कर्मचारीलाई तलब समेत दिन अक्षम रहेको गुणको हवाई सुरक्षा पक्षमा जोखिम रहेको भन्दै उडान रोकिएको हो । गत सोमबारदेखि गुणका विमानहरुलाई उड्न नदिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।
आर्थिक समस्याका कारण पारिश्रिमक दिन नसक्दा कर्मचारीको मनोविज्ञानमा असर पर्ने प्राधिकरणको भनाइ छ । कर्मचारीले राम्रोसँग काम गर्न नसक्ने र सो अवस्थामा हवाई सुरक्षामा जोखिम बढी हुने हुँदा अहिलेलाई उडान गर्न नदिने निर्णय गरिएको हो ।