करिब ५० करोडको लागतमा बनेको बागलुङको ‘बञ्जीजम्प’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

ढोरपाटन । हेटौंडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आए । तीन पटकसम्म आउँदा पनि उनलाई घुमेर धित अझै मरेको छैन । घिमिरे तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका लामा तथा अग्ला झोलुंगे पुल, जिपलाइन, बञ्जीसँगै स्काइ साइक्लिङको अवलोकन गरिराखेका छन् ।

दुईपटक त उनले बञ्जीजम्प गरिसके । परिवारसहित घुम्न आएका घिमिरे अझै केही दिन यहाँ रमाउने योजनामा छन् । यहाँ स्वच्छ वातावरण र रमाइलो गर्ने माध्यम धेरै भएको हुँदा अझै केही दिन बागलुङ र पर्वतमा रहने घिमिरेले बताए । हेटौंडाको कोलाहलबाट यहाँ घुम्न आउँदा शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ बनेको उनको भनाइ छ ।

घिमिरेले भने, ‘म अहिलेसम्म तीनपटक बञ्जीमा आएँ, दुईपटक त बञ्जीजम्प पनि गरें तर अझै पनि मेरो रहर मेटिएको छैन, यहाँ बसिरहुँ, घुमिरहुँ लाख्छ, हेटौंडामा बस्दा दिमाग ह्यांग भएको थियो, यहाँ आएपछि रिफ्रसमेन्ट भएको छ, यो हाम्रो पारिवारिक घुमघाम हो अझै केही दिन बागलुङ र पर्वतमा रहेका घुम्ने ठाउँ अवलोकन गरेर फर्किने छौं ।’

चितवनबाट बञ्जीजम्प गर्न बागलुङ आएकी रजनी ढकालले यो ठाउँ निकै रमाइलो लागेको बताए । टिकटक र फेसबुकमा धेरैले बञ्जीजम्प गरेको देखेपछि आफू पनि आएको बताए ।

उनले योभन्दा होचो स्थानमा रहेका बञ्जीमा आफूले यसभन्दा अगाडि पनि बञ्जी गरेको भन्दै यहाँ गर्दा निकै आनन्द आएको बताए ।

बञ्जीसँगै तल कालीगण्डकी नदी र माथि धवलागिरि हिमालको दृश्यले आफूलाई मोहित बनाएको ढकालले बताए । उनी यस्तो ठाउँ संसारमा जहाँकहीँ नहुने बताए । उनले यो क्षेत्र घुम्नका लागि निकै उपयोगी रहेको बताए ।

बञ्जीजम्प द क्लिप प्रालिमार्फत सञ्चालनमा आएको हो । बञ्जीजम्पमा अहिले दैनिक ५० जनाले बञ्जी गर्ने द क्लिप प्रालिका सञ्चालक प्रकाश प्रधानले बताए । उनले दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक बञ्जीमा घुम्न आउने गरे पनि सीमित मान्छेले मात्रै साइक्लिङ र बञ्जी गर्ने गरेको बताए । पछिल्लो समय विदेशी पर्यटकको आगमन पनि बढ्दै गएको उनको भनाइ छ ।

बञ्जीसँगै बलेवा क्षेत्रमा रेष्टुरेण्ट, गुलेली पिङ, स्काइ साइक्लिङलगायत आधा दर्जन बढी संरचना निर्माण भएका छन् । ती संरचनामा पनि पर्यटकको घुइँचो लाग्न थालेको प्रधानको भनाइ छ । अहिले स्विङ, स्काइ साइक्लिङ र बञ्जी गर्नेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ । उनका अनुसार बाह्य पर्यटक पनि यहाँ आउन थालेका छन् ।

बञ्जीजम्प निर्माण गर्दा सुरुमा २० करोड लागत लाग्ने अनुमानले संरचना निर्माण सुरु गरेको भए पनि लागत बढ्दै गएपछि अहिलेसम्म ५० करोडको हाराहारीमा खर्च भइसकेको उनको भनाइ छ । यहाँ बञ्जीसँगै अन्य धेरै संरचना निर्माण गर्दा बढी लागत लागेको उनले बताए ।

विसं २०७३ देखि पुलको निर्माण सुरु गरिएको थियो भने २०७६ सम्म आइपुग्दा रिसोर्टसमेत निर्माण सकिएको थियो । यसको लम्बाइ पाँच सय २५ मिटर छ । खोलादेखि पुलको उचाइ दुई सय २८ मिटर छ । कम्पनीले विश्वकै दोस्रो अग्लो बञ्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ । बञ्जीजम्पका कारण बलेवा र कुश्मामा व्यापारव्यवसाय बढ्दै गएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स