चितवनको सौराहा पर्यटकको पर्खाइमा

काठमाडौं । दसैँको मुखमा सौराहाका ६५ हात्तीले दैनिक चार पटक पर्यटकलाई वन घुमाउँदा धेरैले पालो पाउँदैनथे । कतिपय कुरेर हात्ती चढ्थे भने कतिपय त्यसै फर्कनु पर्दथ्यो । यही पर्यटकको चापसँगै कोभिडले सुनसान बनाएको सौराहाको पर्यटन क्षेत्र यस वर्ष पनि पूर्ववत् अवस्थामा फर्कन सकेन ।

विगतको तुलनामा यतिबेला सौराहा सुनसान छ । सौराहाका निजी हात्ती सञ्चालन गर्ने सामूहिक सहकारी युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी पर्यटकको पर्खाइमा रहेको बताए ।

उनका अनुसार अहिले दैनिक १०/१५ हात्तीले मात्र पर्यटक बोक्ने अवसर पाएका छन् । ६५ बाट घटेर हात्तीको संख्या ३२ मा झरेको छ । विगत चार वर्षअघिसम्मको अवस्थालाई स्मरण गर्दै तिवारीले भने ‘यतिबेला हाम्रा ६५ हात्तीले दैनिक चार ट्रिप गर्दा पनि पर्यटकले पालो पाउँदैनथे । अहिले १०/१५ वटाभन्दा बढी हात्तीले एक ट्रिप पनि पाएका छैनन् ।

आफूहरु पर्यटकको आगमन हुनेमा आशावादी रहेको तिवारी बताउनुहुन्छ । क्रमशः पर्यटक बढ्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । राप्ती किनारस्थित होटल सनसेटभ्यूका सञ्चालक दिपेन्द्र खतिवडा विगतमा दैनिक एक सयभन्दा बढी पर्यटक दैनिक रेष्टुरेन्टमा आउने भए पनि अहिले २० जना पनि पुग्न मुस्किल हुने गरेको बताउनुहुन्छ । उनले भने ‘ग्राहक नै कम हुन्छन् । त्यसमा पनि पहिले जस्तो खर्च गर्ने अवस्था देखिँदैन । पहिले पहिले मन फुकाएर ग्राहकले खर्च गर्ने गरेको भन्दै खतिवडाले अहिले त्यस्तो अवस्था नरहेको बताए । कोभिड–१९ को असर बल्ल देखिएको जस्तो लाग्छ ।’

क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले घुम्ने समय परिवर्तन भएको आँकलन गरे । दसैँमा मात्र नभएर अन्य समयमा घुम्न थालेकाले यतिबेला सोचे जस्तो पर्यटक नआएको हुनसक्ने उनले बताए । ‘नेपाली मात्र होइन विदेशी पनि आएका छैनन् । सडकको दुरावस्थाले पर्यटकलाई रोकेको हुनसक्ने उनको अनुमान छ ।

जंगल क्राउनका कार्यकारी प्रमुख सन्तोष गिरी कोभिड–१९ का वर्षमा जति पर्यटक यो वर्ष सौराहामा नआएको बताए । ‘कोभिडको वर्ष दसैँमा खुल्दै गर्दा होटल भरिएका थिए ।’ यसले राम्रो संकेत नदेखिएको उनको भनाइ छ । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराई सौराहामा आन्तरिक र बाह्य पर्यटक नआएको बताए ।

भट्टराईको भनाइमा यतिबेला होटल ८० देखि ९० प्रतिशत भरिन्थे । यस वर्ष ३० प्रतिशतसमेत पुगेका छैनन् । तिहारसम्म राम्रो हुने अपेक्षा उनले गरे । कोभिड–१९ को समयमा भन्दा कम पर्यटक सौराहा आएपछि व्यवसायी चिन्तित छन् । भट्टराईले भने ‘हाम्रो अवस्था श्रीलंकाकोभन्दा कम छैन । खर्च गर्ने पैसा नभएर यस्तो अवस्था आएको हो भन्ने मलाई लाग्छ ।’

विगतमा यतिबेला सबै कर्मचारी होटलमा हुन्थे । यस वर्ष बिदा दिनुपरेको भट्टराईको गुनासो छ । ‘अहिले हामीले कर्मचारीलाई बिदा पठाउन थाल्यौँ । विगतमा यस्तो थिएन । होटलमा पर्यटक आए आउने गरी बिदा गरेका हौं ।’ आफूहरु तयारी अवस्थामा रहेको उनले बताए । सौराहामा एक सय २० होटल क्षेत्रीय होटल संघमा आबद्ध छन् । संघमा दर्ता नभएका अरु साना होटल पनि छन् । भट्टराईका अनुसार सौराहाका होटलमा आठ हजार पर्यटक अट्नसक्ने क्षमता छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स