बक्यौता नतिर्ने वायुसेवा सञ्चालक तथा हकदारको बैंक खाता रोक्का र विदेश जान नपाइने

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले सेवा शुल्क वापतको बक्यौता रकम नतिर्ने वायुसेवा कम्पनीलाई कारवाही गर्ने भएको छ । हाल सञ्चालनमा नरहेका वायुसेवा कम्पनीहरुले प्राधिकरणलाई बक्यौता रकम तिर्न बाँकी छ । बक्यौता रकम नतिरे वायुसेवा सञ्चालकहरुको बैंक खाता तथा पासर्पोट रोक्का गर्ने प्राधिकरणले आज (आइतबार) जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

‘प्राधिकरणले वायुसेवा कम्पनी र संचालकहरु तथा निजका हकदारहरु समेतको बैंक खाता रोक्का गरी नेपाल बाहिर जान नपाउने गरी राहदानी रोक्काको कार्वाही समेत गरी चल अचलजयाजेथाबाट सरकारी बाँकी सरह असुल उपर गरिने,’ सूचनामा उल्लेख छ ।

वायुसेवा सञ्चालकहरुले तिर्न बाँकी रकम एक साता भित्र तिर्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।

प्राधिकरणले नेकोन एयर, शिवानी, गोरखा, माउन्टेन, कस्मिक, स्काइलाइन एयरवेज, एयर काष्ठमाण्डपका नाममा सूचना जारी गरेको हो। प्राधिकरणका अनुसार नेकोन एयरको अध्यक्ष तथा प्रवन्ध संचालकमा दीपमणी राजभण्डारी, उपाध्यक्षमा मुकुन्दभक्त श्रेष्ठ, संचालकमा दीपकराज कोइराला, रविन्द्र श्रेष्ठ र रविचन्द्रमान श्रेष्ठ छन्।

नेकोनको ४ करोड ७२ लाख रुपैयाँ बक्यौता छ। शिवानी एयरको संचालकमा मणिन्द्रलाल रंजितकार छन्। यो कम्पनीको ५५ लाख ५१ हजार रुपैयाँ बक्यौता छ। गोरखा एयरमा प्रज्वल श्रेष्ठ, डा। उज्वल श्रेष्ठ, गिन्नीबाबा श्रेष्ठ र सूर्यप्रसाद श्रेष्ठ संचालक छन्।

गोरखाको २० लाख ३५ हजार बक्यौता छ। माउण्टेन एयरको संचालकमा सिद्धिदा राणा र शिवेन्द्रबहादुर बस्नेत संचालक छन्। माउण्टेनको ६ लाख १० हजार रुपैयाँ बक्यौता छ। कस्मिक एयरको ३ करोड ४७ लाख बक्यौता छ।

प्राधिकरणका अनुसार स्काईलाईन एयरवेजमा कार्यकारी अध्यक्ष आङछिरिङ शेर्पा, उपाध्यक्षमा मिङमा दोर्जे शेर्पा, संचालक पेम्वा छिरिङ शेर्पा, प्रन्ध संचालकमा तेन्जिङ नोर्बु शेर्पा, संचालकमा यादब खरेल, बिक्रम पाँडे, केदारबहादुर प्रधानाङ र उत्तम कृष्ण खरेल छन् । यो कम्पनीको ७ लाख ८० हजार बक्यौता छ । एयर काष्ठमण्डपको संचालकमा प्रज्वल श्रेष्ठ, उज्वल श्रेष्ठ र कतारी नागरिक हमाद अली जावोर छन् । यो कम्पनीको ७ लाख ३८ हजार रुपैयाँ बक्यौता छ ।

कुनै पनि वायुसेवा कम्पनीले आफूले उक्त बक्यौता रकम बुझाउनु नपर्ने भन्ने दावी गरेको खण्डमा प्रमाणसहित निवेदन पेस गर्न पनि क्यानले भनेको छ ।

पछिल्लो समय तीन पटकसम्म सूचना जारी गर्दा पनि कम्पनी सम्पर्कमा नआएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स