चैत १ गतेदेखि अन्नपूर्ण केबलकार सञ्चालनमा आउने

पोखरा । नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केबलकार पोखराले चैत १ गते बिहान ५ बजेदेखि सेवा सञ्चालनमा ल्याउने भएको छ ।

पोखरा महानगरपालिका-१८ कोसेदी बगरमा निर्माण भएको अन्नपूर्ण केबलकार चैत १ गते बिहान ५ बजेदेखि साँझ ६बजेसम्म सञ्चालनमा ल्याउन लागेको केवलकारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए ।

बिहानी सेवा सञ्चालनसँगै पयर्टकहरुले बिहानको सूर्योदयको दर्शन तथा साँझ सूर्यास्तको अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।

गत फागुन ६ गतेदेखि नै सञ्चालनमा आएको अन्नपूर्ण केबलकारको दुरी सेदीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर रहेको छ भने सेदीबगरदेखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केवल नौदेखि १० मिनेट भित्रमा नै पार गर्न सकिने बनाएको छ । १७ वटा गोन्डोला रहेको र एउटा गोन्डोलामा आठ जनासम्म बसेर सयर गर्न सकिनुका साथै एक घन्टामा ५ सय जनासम्मले यात्रा गर्नसकिने बताइएको छ ।

कम्पनीले नेपालीका लागि रु ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि रु ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तयगरेको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भने भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । यसैगरी, विधार्थीका लागि २५ प्रतिशत सहुलियतका साथै सहकारीबाट भमणमा आउने सदस्यहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी रहेको अन्नपूर्ण केवलकारको लगानी दुई अर्ब रुपैयाँ लागत पुगेको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए ।

सुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि कोभिड-१९ को संक्रमणकालीन समय र विभिन्न संरचनाहरुले गर्दा लागत बढेको बताइन्छ ।

कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स