काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको साधारण सभा फागुन २७ गतेदेखि सुरु हुने भएको छ । महासंघको २३ औं साधारण सभा तथा १२ औं अधिवेशन फागुन २७, २८ र २९ गते राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।
साधारण सभा तथा अधिवेशन कार्यक्रमको उद्घाट प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुने महासंघले बुधवार राजधानीमा गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
साधारण सभा तथा अधिवेशनमा करीब १२ सय प्रतिनिधि र १२ सय पर्यवेक्षकको सहभागिता रहने महासंघले जनाएको छ । साधारण सभाकै उद्घाटन सत्रमा प्रधामन्त्री देउवाले महासंघको मुखपत्र निर्माण विशेषांकको विमोचन गर्नेे कार्यक्रम रहेको छ । अधिवेशनले आगामी तीन वर्षका लागि महासंघमा नयाँ कार्य समिति चयन गर्नेछ । महासंघको ५९ सदस्यीय कार्य समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएट सहित ८ उपाध्यक्ष, महासचिव ९१० उपमहासचिव ९२०, कोषाध्यक्ष, सहकोषाध्यक्ष सहित ४६ पदमा निर्वाचन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
साधारण सभामा महासचिव एवम् कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिनुका साथै सार्वजनिक हुने क्रममा रहेको सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधन र व्यवसायीहरूका अन्य मागहरुका विषयमा व्यापक छलफल भई काठमाडौं घोषणापत्र जारी गरिनेछ । अधिवेशन स्थल बाहिर निर्माण उद्योग सम्बन्धी विभिन्न संस्था एवं कम्पनीका ३० वटा स्टलहरू रहनेछन् ।
साधारण सभा तथा अधिवेशन कार्यक्रम रूपमा सम्पन्न गर्न महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मूल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरू गठन गरिएका छन् । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनले निर्माण उद्योगमा देखिएका धेरै समस्या समाधान गर्ने बताए । खरिद ऐनको ६ औं संशोधनले रुण बनेका आयोजनाको सम्बन्धमा १० औं संशोधनले संबोधन गरेको थिए । अब हुने ११ औं सम्बोधनले निर्माण व्यवसायीका धेरै जायज माग सम्बोधन हुनुका साथै कार्टेलिङको पनि अन्त्य हुने अध्यक्ष सिंहको दावी छ । ११ औं संशोधनले एउटा निर्माण व्यवसायीले ५ वटाभन्दा बढी ठेक्का लिन नपाउने व्यवस्था गरेको पनि उनले जानकारी दिए ।
महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले आइसीयुमा पुगेको निर्माण क्षेत्रलाई जनरल बेडमा ल्याउन अहिलेको ११ औं संशोधनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।