टिकटक पारखीका लागि लक्ष गरेर पहिलो पटक सिसैसिसाको स्काइ ब्रिज

पर्वत । सिसैसिसाले बारिएको आकाशे पुल (स्काइब्रिज) यहाँ सञ्चालनमा ल्याइएको छ । कुस्मा बजारस्थित कालीगण्डकी नदीको खोंचमा बनाइएको स्काइब्रिज राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आज उद्घाटन गरे ।

कुस्मास्थित हार्नेस जिपलाइन प्रालीले टिकटक पारखीका लागि लक्ष गरेर मुलुकमै पहिलो पटक यस्तो पुल निर्माण गरेकोे कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए ।

कालीगण्डकी नदीको सतहदेखि झण्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भिरको दृश्य छर्लङ देखिन्छ । तल हेर्दा डर लाग्नाका साथै आनन्द पनि लिन सक्नेगरी पुल बनाइएको हो ।

एकैपटकमा १०० जनासम्मले स्काइब्रिजको वारपार गर्नसक्ने उनको भनाइ थियो । पुल ३५ फिट लामो र ११ फिट चौडा छ । ‘

हामीले नेपालका लागि पहिलो सिसाको पुल बनाएका हौं’, उनले भने, ‘अहिले युवाको आकर्षण टिकटकमा भएका कारण यसले टिकटक बनाउन युवायुवतीलाई आकर्षण गर्ने विश्वास लिएका छौं ।’

स्काइब्रिजमा पसेर नाच्न र गाउँन पनि सकिने छ । अहिले निर्माण भएको छोटो स्काइब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविष्यमा विश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको निर्देशक बस्नेतले बताए ।

स्काइब्रिज विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन र विश्वकै दोस्रो अग्लो बञ्जी तथा विश्वकै अग्लो स्विङसँगै छ ।

हार्नेस प्रालीले कुस्मा बजारमा नै पहिलो पटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ । आइतबारदेखि सञ्चालनमा आएको स्विङमा पहिलो दिनमा नै २० जोडीले मज्जा लिएको उनको भनाइ थियो । कम्पनीले यसअघि विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन पनि सञ्चालनमा ल्याएको छ ।

अहिले जीपलाइनमा बालबच्चादेखि ८० वर्षे वृद्धसम्मको आकर्षण छ । पोखरा र अन्य ठाउँबाट पनि धेरै पर्यटकले जीपलाइनमा आउने इच्छा गर्दै समय बुक गराउनेक्रम बढिरहेको प्रबन्ध निर्देशक सुनिलसिंह बानियाँले बताए ।

‘बन्जी, स्वीङलगायत साहसिक खेलभन्दा जीपलाइनमा केही कम डर हुने अनुभव जीपलाइनमा बगेकाले सुनाएका छन् । जीपलाइनप्रति उनीहरुको धारणा कस्तो रह्यो भन्नका लागि हरेक जनासँग सोध्ने गरेका छौं’, उनले भने । जीपलाइनका लागि तीन हजार ५०० शुल्क तोकिएको छ ।

कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जीपलाइनको सुरुवाती गति प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिंदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ ।

एक हजार ४८० मिटरको दूरी पार गरिसक्दा नदी किनारमा कम्पनीले नै निर्माण गरेको रिसोर्टमा पुगेर जीपलाइन ल्यान्डिङ हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स