काठमाडौं । होटल संघ नेपालले २०८१ माघ २ गते बुधबार काठमाडौंमा नेपाल सत्कार दिवस २०२५ को आयोजना गर्न लागेको हो । होटल व्यवसाय संघका अध्यक्ष विनायक शाहले बढी भन्दा बढी पर्यटक कसरी भित्र्याउन सकिन्छ भन्ने उद्देश्यलाई ध्यानमा राखेर यो कार्यक्रम आयोजना गर्न लागेको बताए । नेपालमा रैथाने खाना हुँदा हुँदै पनि पर्यटकलाई जोड्न नसकेको उनको भनाइ छ ।
सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाहले क्षमताको एक तिहाई मात्र उपयोग भएको बताए ।
उनले २२ हजार ग्राहकलाई एकै पटक खाना खुवाउन सक्ने क्षमता रहेको बताए । उनले भने ‘हामी जति स्तरीय सेवा दिन सक्छौ त्यति पर्यटकहरू आउन सक्छन्’।
सम्माननीय राष्ट्रपतीको प्रमुख आतिथ्यतामा पहिलो सत्कार दिवस ( नेपाल हस्पीटालीटी २०२५) २०८० माघ २ गते काठमाडौंमा आयोजना भएको थियो ।
संघले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष माघ २ गते सत्कार दिवस आयोजना गर्ने जनाएको छ ।
होटल क्षेत्रले वर्ष भरी भोगेका अवस्थाहरु र विकासका सम्भावना, चुनौतीहरु तथा आगामी दिनमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेका विषयहरु सत्कार दिवसमा प्रस्तुत गर्ने जनाएको छ ।
यस वर्षको सत्कार दिवसमा होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले संघले प्रकाशनमा ल्याएको ( नेपाल होटल एयर बुक २०२५ को विमोचन हुने कार्यक्रम रहेको छ भने सोही अवसरमा मुलुकलाई विश्वमाझ रैथाने खाना प्रवद्र्धन गर्दै विदेशी पर्यटकहरुलाई नेपाल आगमनमा लालायित बनाउन सातै प्रदेशका मुख्य मुख्य रैथाने खानाहरु प्रदर्शनमा राखी सोही खाना कार्यक्रममा सहभागी हुने पाहुनाहरुलाई सत्कार स्वरुप प्रस्तुत गरिने संघले जनाएको छ ।
उक्त अवसरमा विभिन्न विधाका प्रायोजकहरुद्वारा प्रवद्र्धनमा राखिएका प्रदर्शनी कक्षहरु मुख्य आकर्षण रहने होटल संघ नेपालले जनाएको छ ।
साथै कार्यक्रममा पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाई पुरस्कृत गरिने छ । उक्त कार्यक्रममा प्रायोजन गरी सहयोग गर्नु हुने प्रायोजकहरुदलाई समेत सम्मान गरिने कार्यक्रम पनि रहेको छ।
देशैभरिबाट सहभागी रहने होटल संघ नेपालको वार्षिक साधारणसभा पनि सोही दिन आयोजना हुने संघले उल्लेख गरेको छ ।