नेपालमा पुँजी बजारको अपरिहार्यता र यसको प्रवर्द्धन: राजेश कार्कीको लेख

पुँजी बजार नै उद्योग, व्यवसाय शुरु गर्न वा सञ्चालनमा रहेका उद्योग, व्यवसाय विस्तार गर्न आवश्यक हुने लगानीका लागि साधन परिचालन गर्ने एउटा महत्व पूर्ण माध्यम हो ।

यति हुँदा हुँदै पनि हाम्रो देशको नियामक निकायले यसको प्रवर्द्धनका लागि कुनै ठुलो कदम उठाउन सकेको छैन । हाम्रो देशमा समय समयमा सिस्टम त फेरियो तर पात्र र प्रबृत्ति फेरिएन। जसले गर्दा पुँजी बजार मात्र हैन देश ले नै ठुलो मूल्य चुकाउनु परिरहेको छ।

तल प्रमुख ४ कदम उल्लेख गरेको छु, जसले पुँजी बजारको प्रवर्द्धनलाई अगाडि बढाउन सक्छ ।

१) पुँजी बजारप्रति जनताको पहुँच बढाउन विभिन्न महत्त्वपूर्ण कदम चाल्नुपर्ने भएको छ । २०३४ सालसम्म जसरी हरेक जिल्लामा एक बैंक पुर्‍याउने लक्ष्य राखेर काम गरिन्थ्यो । अहिले फेरी बैंकलाई ब्रोकर लाइसेन्स दिन त्यस्तै लक्ष्य लिनु जरुरी छ। किनकि धेरै नेपाली अझै पनि पुँजी बजार उनीहरूको सम्पत्ति सुरक्षित रूपमा राख्ने अन्य स्रोतहरू जस्तै एक हो भन्नेबारे जानकार छैनन् वा त्यो सुविधा उनीहरूलाई प्राप्त छैन । बैंकमा पैसा राख्ने चलन बढेको छ ।

तर बैंकमा ब्याजदर घट्दा उनीहरू जोखिममा पर्दछन। सेयर मार्केट बैंकको ब्याजदर घट्दा बढ्ने भएकाले त्यो जोखिम ‘हेज’ गर्ने एउटा महत्त्वपूर्ण माध्यम हो । जग्गामा लगानी गर्दा जरुरत परेका बेला सेयर बजारमा जस्तो तुरुन्त बेचेर पैसा जुटाउन सकिने सम्भावना कम हुन्छ । सम्पत्तिको तरलता प्रत्याभूति गर्ने माध्यमका रूपमा सेयर बजारलाई लिन सकिन्छ । यसैले सरकारले सेयर बजारमा जनताको वित्तीय पहुँच बढाउन बैंकिङमा गर्ने गरिएजस्तै बल गर्नुपर्छ ।

नेप्सेले क्षेत्रीय ब्रोकरहरूको संख्या बढाउन धितोपत्र बोर्डलाई सुझाव दिएर यथा सिघ्र त्यो बाटामा बोर्ड र सरकार लाग्नुपर्छ । सरकारले यदि लिलाम बढाबढबाट जिल्ला जिल्लामा भौतिक उपस्थिति प्रत्याभूति गर्ने गरी नयाँ लाइसेन्स बाँडेमा पुंजी बजारको प्रवर्द्धनका साथै सरकारलाई महत्त्वपूर्ण आय तुरुन्त प्राप्त हुन सक्छ ।

त्यसै पनि अहिले भएका पचासवटा ब्रोकर लाइसेन्सहरू वर्षको १ अर्ब पनि सेयर बिक्री नहुने बेला बाँडिएका हुन् । तिनीहरूले नयाँ समयको सम्भावना पहिचान गर्न सकेका छैनन् । ती प्रविधि र पहुँचमा अगाडि छैनन् र तिनलाई विभिन्न सरकारी हाकिमहरूले ब्ल्याकमेल गरेर पैसा लिन्छन् या तिनले नै मन्त्रि देखि सरकारी हाकिम खरिद गर्दछन भन्ने समाचार आइरहेका छन् ।

यो अवस्था अब हुनु हुँदैन । नयाँ दलाल कम्पनीहरूको हकमा अनलाइन मात्र ट्रेडिङ गर्ने सिस्टम अनिवार्य गरिनुपर्छ र त्यसैअनुरूपको उच्च पुँजी क्षमता तोकिनुपर्छ।

२) पुँजी बजारमा गर्नुपर्ने दोस्रो काम बजारको प्रोडक्टको विविधीकरण हो । अहिले हाम्रो बजारमा एउटा मात्र सामान (सेयर) किन्न पाइन्छ । त्यसलाई अरू देशमा जस्तै बढाउनुपर्छ । जसरी कुनै उपभोग्य वस्तु बेच्ने दोकानमा एउटा मात्र वस्तु (उदाहरणका लागि साबुन) बेच्नु र धेरै सामान बेच्नुमा धेरै फरक हुन्छ । त्यसरी नै सेयर बजारमा सेयर मात्र बेच्नु र धेरै खालका प्रोडक्ट बेच्नुमा फरक हुन्छ र दोस्रो अवस्थामा धेरै राजस्व समेत सिर्जना हुन्छ ।

बजारमा इन्डेक्स फन्ड, इन्डेक्स डेरिभेटिभ, इक्विटी डेरिभेटिभ, अप्सन्सको बेचबिखन सुरु गर्ने, स्टक डिलर र मार्जिन ट्रेडिङजस्ता नयाँ उपकरण सुरु गर्ने, प्रस्ताव गरेर लामो समयदेखि अलपत्र छोडिएको कमोडिटी ट्रेडिङ, इन्ट्रा–डे बेचबिखन सुरु गर्नेजस्ता महत्त्वपूर्ण नयाँ काम गरिन अझै बाँकी छ। प्रोडक्ट विविधीकरण गर्ने अर्को उपाय त्यहाँ सूचीकृत कम्पनीहरूको संख्या बढाउनु पनि हो ।

पुराना कम्पनीहरूको संख्या बढाउन नसके पनि नयाँ निजी कम्पनीहरूलाई त्यहाँ सूचीकृत हुन विभिन्न सुविधा दिन सकिन्छ। जति धेरै कम्पनी, जति धेरै व्यवसायगत समूहहरू सूचीकृत भए, त्यति उपभोक्ताहरूलाई बढी छनोटको सुविधा हुन्छ र जोखिम विविधीकरण हुन्छ ।

३)  पुँजी बजारमा संस्थागत तथा अन्य लगानीकर्ता थप्न काम गरिनुपर्छ । यसका लागि प्रथमतः नेप्सेको प्राविधिक पक्ष अझ मजबुत गरिनुपर्छ। दोस्रो, गैरआवासीय नेपाली तथा संस्थागत रूपमा आउने विदेशी लगानीकर्ताहरूलाई आउन सक्ने र ट्रेडिङ गर्न सक्ने वातावरण बनाउनुपर्छ । सेयर मार्केटमा लगानी गर्ने प्रक्रिया सर्वसाधारणका लागि भरपर्दो, कम झन्झटिलो तथा सुरक्षित हुनुपर्छ र त्यसका लागि सर्वोच्च स्तरको प्रविधिको प्रयोग गर्न हिचकिचाउनु हुँदैन ।

हाम्रो मुलुकको पुँजी बजारको प्राविधिक स्तर दक्षिण एसियाका अन्य मुलुकसरह बनाउन वैदेशिक तथा अन्तर्राष्ट्रिय निकायहरू (उदाहरणका लागि एसियाली विकास बैंक, विश्व बैंक, भारत तथा चीनका स्टक एक्सचेन्जहरू) सँग सहकार्य गरेर प्रविधिमा लगानी गर्नुपर्छ । त्यसो भए विदेशी लगानीकर्ताहरू अमेरिकी डलरमा लगानी गर्न सक्ने हुनेछन् र मुलुकको वैदेशिक मुद्रा सञ्चिति बढ्न सक्छ ।

४) अर्थ मन्त्रालय तथा पुंजी बजार सम्बन्धि तालुकवाला अन्य सबै नियामक निकायले निति नियम तर्जुमा गर्दा समग्र देशको अर्थतन्त्र हेरेर गरिनु पर्दछ । लगानी प्रोत्साहनलाई भन्दा सेयर बजारलाई नै नियमनको नाममा नियन्त्रण गर्ने खालका नीति तर्जुमा गरिनु हुँदैन । हाम्रो बजार अझै पनि विकासको प्रारम्भिक चरणमा बाटै गुज्रीरहेको छ। बजारभित्र इन्साइडर ट्रेडिङ देखि लिएर हरेक खालको चलखेल भईरहेको छ ।

तर यसो भनेर यो बजारलाई नै दुत्कार्नु बुद्धिमानी हुँदैन। त्यसमा रहेका कमी कमजोरी पहिचान गरी तिनलाई सच्याउनुपर्छ। खुला अर्थतन्त्रमा हरेक किसिमको प्रवृत्तिका मानिस विभिन्न आर्थिक गतिविधिमा संलग्न भइरहेका हुन्छन् । जसबाट अर्थतन्त्रलाई नोक्सान पुगिरहेको हुन्छ तर त्यसो भयो भनेर अर्थतन्त्रको घाँटी अठ्याउनु उचित हुँदैन । अवैध गतिविधि गर्नेहरूलाई ऐन कानुनअनुसार उचित दण्ड दिनुपर्छ ।

सेयर बजारले औद्योगीकरणको विस्तारलाई सहयोग गर्ने मात्र नभएर यसको प्रतिफललाई आम जनता सम्म पुर्याउने काम पनि गर्छ। कम्पनीको वित्तीय विवरण, सुशासन र आगामी रणनीतिसहितका सूचना लिई लगानी गर्दा सुरक्षित हुने हुँदा लगानीकर्ताको सूचना समान हक स्थापित गर्न नियामकहरु अब लाग्नुपर्ने देखिन्छ। सेयर बजारलाई थप आधुनिकीकरण गर्दै कारोबार लागत घटाउने र थप सुरक्षित बनाउने जिम्मा सबै नियमक निकायको हो।

हामीलाई चाहिएको उत्पादनशील क्षेत्रमा ठूलो लगानी हो। हामीलाई चाहिएको ठूलो संख्यामा गुणस्तरीय रोजगारीका नयाँ अवसर हो। हामीलाई चाहिएको उत्पादन र निर्यात वृद्धि हो। आयातको प्रतिस्थापन हो। यदि पब्लिक लिमिटेड कम्पनी हुनै पर्ने र धितोपत्र विनिमय बजारमा सूचीकृत हुनै बाध्यात्मक व्यवस्थाले ठूला लगानीकर्ता हच्किए भने हामीले खोजेको परिणाम प्राप्त हुँदैन ।

पुँजी बजार दीर्घकालीन वित्तीय बजार हो। धितोपत्र बजारको स्थायित्व तथा विकास प्रवर्द्धन गर्ने वित्तीय नीति तथा मौद्रिक नीति अपनाई धितोपत्रको पर्याप्त आपूर्ति तथा धितोपत्र लगानी औजारहरूमा विविधिकरण गरी धितोपत्र बजारको तथ्याङ्क व्यवस्थापन प्रणाली र सूचनाप्रवाहको स्तरमान विकास गरी देशको उच्चतम आर्थिक क्रियाकलापमा परिचालन गर्नाले समग्र देशको आर्थिक विकास र वृद्धि हुने देखिन्छ।

यी सबै कारणले यो बजार प्रवद्र्धन र संवद्र्धन गर्नुपर्ने बजार हो। यसलाई प्रतिकूल असर गर्ने, नियमन भन्दा नियन्त्रण गर्ने र यसप्रति जनमानसमा गैर जिम्मेवार तरिका ले नकारात्मक सन्देश प्रवाह गर्ने किसिमका अभिव्यक्ति दिनु गलत हुन्छ तथा तात्कालिक अवस्थामा २० अरबको दैनिक सरदर कारोबार भईरहेको यो पुंजी बजारका अविभावक दुई महत्वपुर्ण निकायलाई प्रमुख बिहिन बनाउने कार्य सर्वथा अनुचित भएको हुँदा सरोकारवाला ले समय मै ध्यान दिनु उचित हुने छ।

लेखक कार्की

(विगत १० वर्षदेखि सेयर बजारमा राजेश कार्की सक्रिय छन्)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स