यी हुन् सेयर होल्डरलाई ३० प्रतिशतभन्दा बढी लाभांश दिने दर्जनभन्दा बढी कम्पनी

काठमाडौं । अहिले कम्पनीहरूले लाभांश घोषणा गरिरहेका छन् । २० वटा वाणिज्य बैंक, ५ विकास बैंक, एक फाइनान्स कम्पनी तथा २६ वटा माइक्रोफाइनान्सलगायत अन्य कम्पनीले लाभांश घोषणा गरिसकेका छन् भने अन्य कम्पनीहरू लाभांश घोषणा गर्ने तयारीमा जुटेका छन् । लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये ३० प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेका कम्पनीलाई लिएका छौं ।

हालसम्म चालु आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्न घोषणा गरेका बैंकहरूमध्ये नबिल बैंकले मात्रै ३० प्रतिशतभन्दा बढी लाभांश दिने भएको छ । बैंकले कुल ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । नबिल बैंकले ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद लाभांश दिने तयारी गरेको हो ।

लाभांश घोषणा गरेका विकास बैंकमध्ये एउटा पनि विकास बैंक र कुनै पनि फाइनान्स कमपनीले ३० प्रतिशतभन्दा माथि लाभांश दिने क्षमता राखेका छैनन् ।

लघुवित्त कम्पनीतर्फ भने महिला लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । महिला लघुवित्तले २.५ प्रतिशत नगद लाभांश र ४७.५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

स्वाभिमानी लघुवित्तले ३२.३० प्रतिशत बोनन र १.७० प्रतिशत नगद गरी जम्मा ३४ प्रतिशत लाभांश दिने भएको छ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले ३२ प्रतिशत नै बोसर सेयर दिने भएको छ ।

उसले नगद लाभांश दिने घोषणा गरेको छैन । सबैको लघुवित्त वित्तीय संस्थाले ३१.०५ प्रतिशत बोनस र १.६३ प्रतिशत नगद लाभांश गरी ३२.६८ प्रतिशत लाभांश दिने तयारी गरेको छ । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाले ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद गरी कुल ३१.५७ प्रतिशत लाभांश दिने भएको छ ।

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनी तथा सुचिकृत कम्पनीका सहायक कम्पनीमध्ये बढी लाभांश दिने कम्पनीहरूमध्ये युनिलिभर नेपालले भने ६५० प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ ।

कम्पनीहरुले गरेको घोषणा अनुसार यो वर्ष सबैभन्दा बढी लाभांश घोषणा गर्ने दोस्रो नम्बरमा ग्लोबल आईएमई समुन्नत स्कीम–१ परेको छ । यो स्कीमले आफ्ना इकाईधनीहरुलाई शतप्रतिशत लाभांश दिने घोषणा गरेको छ । युनिलिभर नेपाल र ग्लोबल आईएमई समुन्नत स्कीम–१ ले शतप्रतिशत नगद लाभांश दिने घोषणा गरेका हुन् ।

अहिलेसम्म नेप्सेमा सूचीकृत एक सय ४ कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । अन्य कम्पनीको लाभांश भने ३० प्रतिशतभन्दा कम रहेको छ ।

लाभांश घोषणा गरेका १० वटा जलविदुत कम्पनीहरूको लाभांश पनि ३० प्रतिशतभन्दा कम नै रहेको छ । लाभांश घोषणा गर्ने जलविद्युत कम्पनीहरूमा न्याग्दी गू्रप पावर, अरुण कावेली पावर, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रैराङ हाइड्रोपावर, अपी हाइड्रोपावर, अरुण भ्यालीलगायता कम्पनी रहेका छन् ।

लाभांश दिनेमा क्यापिटल कम्पनी अगाडी

यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपालले ५५ प्रतिशत लाभांश दिदैछ । सो कम्पनीले ३० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल नेप्सेमा सुचिकृत कम्पनी भने होइन ।

नेप्सेमा सुचिकृत सनराइज फष्ट म्युचुअल फण्ड र एनआईबीएल प्रगति फण्डले ५०/५० प्रतिशतका दरले नै लाभांश दिने भएका छन् । यी कम्पनीहरुले शतप्रतिशत नगद लाभांश दिने घोषणा गरेका हुन् । नेप्सेमा सुचिकृत नभएको खुल्लामुखी योजना एनआईबीएल सहभागिता फण्डले पनि ५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

एनआईसी एसिया क्यापिटलले ४८ प्रतिशत नगद लाभांश दिने भएको छ । यो कम्पनी एनआईसी एसिया बैंकको सहायक कम्पनी हो । प्रभु क्यापिटलले २८.३८८५ प्रतिशत बोनस सेयर र १७.६१ प्रतिशत नगद लाभांश गरी ४५.९६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यो कम्पनी प्रभु बैंकको सहायक कम्पनी हो ।

प्रभु क्यापिटल पनि नेप्सेमा सुचिकत भएको कम्पनी होइन । नेप्सेमा सुचिकृत नभएका सनराइज बैंकको सहायक कम्पनी सनराइज क्यापिटल र सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलले ४०/४० प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् । नेप्सेमा सुचिकृत नबिल इक्वीटी फण्ड तथा सिटिजन्स म्युचुअल फण्ड–१ र २ ले ४०/४० प्रतिशतका दरले लाभांश दिने घोषणा गरेका छन् । यी सबै कम्पनीहरुले नगद लाभांश दिन लागेका हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स