काठमाडौं । नेपालको सेयरबजार सिद्धान्त भन्दा पनि फरक रुपले अघि बढ्ने गरेको विज्ञहरुले नै चर्चा गर्छन् । पछिल्लो समय त्यहि भैरहेको पनि छ ।
अघिल्लो साता मौद्रिक नीतिको समीक्षा भएको थियो । समीक्षामा सेयरबजारलाई प्रभाव पार्ने खालको कुनै नीतिहरु चालाइएन । त्यस्तै यो साता बजेट प्रस्तुत भयो । त्यसले पनि बजारलाई प्रभाव पार्ने नीति लिएन । त्यसलाई व्यवस्थित बनाउने र नियामक निकायलाई समेत बलियो बनाउने विषयहरु समावेश भए ।
दुई सातामा दुई प्रमुख घटना भए ती घटना सेयरबजारलाई प्रत्यक्ष प्रभव पार्ने खालका थिएनन् । तर मौद्रिक नीति पछि सेयरबजारको थोरै भए पनि कारोबारदेखि सूचकमा समेत वृद्धि देखियो । यसरी वृद्धि देखिँदा अब सेयर बजार बढ्ने भन्दै लगानीकर्तामा उत्साह देखिएको थियो ।
धेरैको विश्लेषण थियो , नेपालको अर्थतन्त्र नै चलायमान हुने स्थितिमा अघि बढिरहेको छ ।
त्यसको प्रभाव सेयरबजारमा देखियो भन्ने थियो । अझ नेपालको सेयरबजारमा बैंक तथा वित्तिय क्षेत्र सेयर होल्ड धेरै रहेको र यो समूहको नै वृद्धि हुँदा अब स्थायी रुपमा नै सेयर बजार बढ्यो भन्ने थियो । त्यो भएन ।
बजेट पछि पुन सेयर बजार गिरावट तिर गएको छ।
सेयरबजारको प्रमुख नियमक निकाय त नेपाल धितोपत्र बोर्ड नै हो । तर राष्ट्र बैंकले चलाउने मौद्रिक औजारको समेत यसमा ठूलो प्रभाव रहन्छ । राष्ट्र बैंकले बजेट सार्वजनिक सँगै अर्थतन्त्र चलायमान बनाउन खुकुलो नीति लिने भनिरहेको छ । तर पनि बजार भने गिरावट भएको देखिएको हो ।
यो साता कस्तो रह्यो त?
कारोबार हुने साताको अन्तिम दिन सेयर बजारमा भारी गिरावट आएको छ । बिहीबार, नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ अंक विन्दुमा रोकिएको छ । बिहिबार नेपाली बजारमा ९८ लाख ६४ हजार कित्ता सेयर ४ अर्ब २१ करोड ७४ लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, ७० वटा कम्पनीको सेयर मूल्य बढ्दा १७३ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहन सफल भयो ।
यस दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको १९ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।
त्यसैगरि, नेपाल फाइनान्स, अप्पर लोहोरे खोला हाइड्रोपावर, भगवती हाइड्रोपावरमा १० प्रतिशत र मनकामना इन्जिनियरिङ हाइड्रोृपावरको ९.९८ प्रतिशतले सकरात्मक सर्किट लागेको थियो ।
बजेट भाषणको भोलिपल्ट अर्थत साताको चौथो दिन पनि, सेयर बजारमा ठूलै गिरावट आएको थियो । बुधबार, नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ अंक विन्दुमा रोकिएको थियो । सो दिन १ करोड ७ लाख ३८ हजार कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाखमा खरिद बिक्री भएको हो । उक्त दिन बजारमा ५६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९१ वटा कम्पनीको सेयर मूल्य घटयो ।
यस दिन पोखरा फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको १९ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।
यता युनिलिभर नेपाल, कालिन्चोक दर्शन, उपर लाहोर खोला र भगवती हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको थियो ।
त्यसैगरी सेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार, नेप्से परिसूचक ३.९३ अंकले बढेर २११३.२७ अंक विन्दुमा रोकिन सफल भयो । सो दिन ९३ लाख ३० हजार कित्ता सेयर ३ अर्ब ८९ करोड ३७ लाखमा खरिद बिक्री भएको थियो भने बजारमा १४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९० वटा कम्पनीले घाटा बेहोरर्नु पर्यो । तर ८ वटा कम्पनीको सेयर भने स्थिर अवस्थामा रहयो ।
यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको २० करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।
मुक्तिनाथ कृषि कम्पनी र नेपाल वायर हाउजिङको १० प्रतिशतले सकरात्मक सर्किट लागेको थियो ।
कारोबारकोे पहिलो दिन सेयर बजारमा भारी गिरावट आएको थियो। आइतबार, नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ अंक विन्दुमा झरेको थियो । सो दिन बजारमा १ करोड १० लाख ४४ हजार कित्ता सेयर ४ अर्ब ४४ करोड १५ लाखमा खरिद बिक्री भएको थियो ।
त्यस्तै, २९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१५ वटा कम्पनीको सेयर मूल्य घटेको थियो, भने ३ वटा कम्पनीको सेयर मूल्य स्थिर अवस्थामा रह्यो ।
यस दिन आईएमई लाइफ इन्स्योेरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको १५ करोड ६६ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।
त्यसैगरि, कालिका दर्शनको १० प्रतिशतले सकरात्मक सर्किट लाग्न पुग्यो ।