काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) लामो समयदेखि नेतृत्व विहिन हुँदा प्राथमिक सेयर निष्काशनका लागि स्वीकृति लिन आवेदन दिएका कम्पनी त्यतिकै अलपत्र बनेका छन् ।
अहिलेसम्म धितोपत्र बार्डमा ३५ कम्पनीले २७ अर्ब ९३ करोड ४४ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेका लागि आवेदन दिएका हुन् ।
आईपीओ लागि आवेदन दिने कम्पनीहरूमा सबैभन्दा बढी जलविद्युत कम्पनी रहेका छन् भने स्पिनिङ मिल्सदेखि सिमेन्ट उद्योगसम्मले आईपीओ निष्काशनको लागि आवेदन दिएको सेबोनको साइटमा उल्लेख गरिएको छ ।
जगदम्बा स्टिलले सबैभन्दा बढीको आईपीओ निष्काशनको माग गरेको छ । कम्पनीले ६ अर्बभन्दा बढीको आईपीओ माग गरेको हो । सेबोनले कम्पनीको आईपीओ निष्काशन गर्नका लागि सुुझावसहित कमेन्ट पठाएको छ ।
मारुती सिमेण्टले ४ अर्ब ३७ करोड मूल्य बराबरको आईपीओ जारी गर्न बीमा कम्पनीका आवेदन दिएको छ । गत पुस २६ गते कम्पनीले आवेदन दिएपनि यसको पनि अवस्था उस्तै छ । कम्पनीको डकुमेन्ट समेत खोलिएको छैन ।
डिसहोम मिडियाले गत असार १२ गते नै आईपीओ निष्काशनको लागि सेबोनमा आवेदन दिएपनि अहिलेसम्म स्वीकृत पाएको छैन । कम्पनीले १ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ मूल्य बराबरको १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता सेयर निष्काशन गर्नको लागि अनुमति माग गरेको हो । सेबोनले आईपीओ निष्काशनको लागि थप डकुमेन्ट माग गरेको छ ।
अर्बभन्दा बढीको आईपीओ निष्काशनको लागि अर्किड होल्डिङले पनि सेबोनमा गत मंसिरमा आवेदन दिएको हो । १ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने तयारीका साथ सेबोनमा आवेदन दिएको यस कम्पनीको आवेदनमा कुनै चासो देखाइएको छैन ।
यो अवधिमा सेबोनमा अध्यक्षमात्रै नभएका हुन् । अन्य सबै पोष्ट परिपूर्ण छ । र पनि यसमा कुनै डकुमेन्ट समेत अध्ययन नभएको सेबोनकै साइटमा देखिएको छ ।
सोलु हाइड्रोपावरले पनि २ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले गत मंसिर १५ गते आईपीओ निष्काशन गर्नको लागि आवेदन दिएको हो । सेबोनले यो अवधिमा आईपीओ निष्काशन गर्नको लागि कम्पनीलाई कमेन्ट पठाएको छ ।
अर्बभन्दा कम आईपीओ निष्काशन गर्ने कम्पनीमा एम्बालिङ हाइड्रोपावर कम्पनी, एपेक्स हस्पिटल, एसवाई प्यानल नेपाल, विकास हाइड्रोपावर, रिलाइन्स स्पिनिङ मिल्स, स्वस्तिक लघुवित्त वित्तीय संस्था, अकर्ड फर्मासिटिकल्सलगायतका कम्पनी रहेका छन् ।