काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित विशेष साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले सभा आगामी जेठ १६ गते कम्पनीको रजिष्टर्ड कार्यालय हेटौंडा(८, मकवानपुरमा डाकेको हो ।
सभामा कम्पनीले सर्वसाधारणलाई अंकित मूल्यमा आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्नेछ । यस अघिको वार्षिक साधारण सभामा कम्पनीले प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव पेश गरेको थियो । अहिले भने कम्पनीले अंकित मूल्यमै आईपीओ ल्याउने भएको छ ।
कम्पनीले आईपीओ निष्काशन गर्नको लागि यस अघि नै नेपाल एसबिआई मर्चेण्ट बैकिङलाई बिक्री प्रबन्धक चयन गरिसकेको छ ।
कम्पनीले सर्वसाधारणलाई सहभागी गराउने उद्देश्यका साथ १०० अंकित दरका १४ लाख कित्ताले हुन आउने रकम १४ करोड बराबरको सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्लाष्टिकका जग, टेबल, कुर्जी, टोकरी, ह्याङगर देखि बाल्टिनसम्म उत्पादन गर्दै आएको छ ।
यसले सीपीभीसी देखि पीभीसी पाइहरुको पनि उत्पादन गर्ने गरेको छ । कम्पनीले प्लाष्टिकको कच्चा पदार्थबाट बनाइएका कन्टेनरका रुपमा विभिन्न गुण र गुणस्तरका औद्योगिक र घरेलु डस्टबिन पनि उत्पादन गर्छ ।