सरकारले ८ महिनामा उठायो सवा ३ अर्ब रुपैयाँ पुँजीगत लाभकर

काठमाडौं । सरकारले चालु आवको ८ महिनामा ३ अर्ब २४ करोड रुपैयाँ पुँजीगत लाभकर उठाएको छ । गत आर्थिक वर्षभरी २ अर्ब ९७ करोड रुपैयाँ पुँजीगत लाभकर उठाएको सरकारले चालुको फागुन महिनासम्ममा नै ३ अर्ब २४ करोड रुपैयाँ लाभकर उठाएको सीडीएससी एण्ड क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

गत आव पुँजी बजार धेरैनै पेनिक भएकोले लाभकर त्यति उठ्न सकेको थिएन । ‘यस वर्ष राम्रो नभए पनि गत आवको तुलनामा बजारले केहि प्रोग्रेस गरेको छ’, उनले भने ‘बजार राम्रो हुने हो भने लाभकर पनि राम्रो नै उठ्छ । ’ सरकारले अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा १० अर्ब ३५ करोड पुँजीगत लाभकर उठाएको थियो भने त्यसको अघिल्लो वर्ष २०७७/०७८ मा १४ अर्ब ३९ करोड रुपैयाँ लाभकर उठाएको थियो ।

चालु आर्थिक वर्ष लागेपछि पनि धितोपत्र बजारमा सुधार नदेखिदा यसको असर पुँजीगत लाभकरमा परेको हो । सेयर मार्केट धरासयी हुँदै जाँदा सरकारको राजस्वमा समेत असर परेको देखिएको छ ।

सीडीएससीले चालु आर्थिक वर्षको पहिलो ८ महिनामा संकलन गरेको पुँजीगत लाभकरमा छोटो समयका लगानीकर्ताले बढी लाभकर तिरेको देखिएको छ भने लामो समय लगानी गर्ने लगानीकर्ताले थोरै लाभकर तिरेको देखिएको सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पुर्ण प्रसाद आचार्यले बताए ।

‘हाल बजारमा छोटो समयका लागि ट्रेड गर्ने ट्रेडरहरू बढी देखिएका छन्,’ उनले भने ‘यस्तो अवस्था आउनु भनेको बजारमा स्थायित्व नहुनु हो । सेयर बजार तल ओर्लदा यसको असर राजस्वमा परेको छ ।’
छोटो समयको कारोबार बढ्नु भनेको बजारमा लगानीकर्ताभन्दा ट्रेडरहरू बढी हुुनु हो । त्यसैले पनि १ वर्षभन्दा कमको सेयर कारोबारबाट लाभकर बढी उठेको हो ।

सरकारले १ वर्षभन्दा छोटो अवधिमा सेयर किनबेच गर्नेलाई ७.५ प्रतिशत र सो अवधिभन्दा माथिको समय अर्थात लामो समयपछि सेयर कारोबार गर्नेलाई ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स