घट्दो ट्रेण्ड छोड्दै सेयर बजार, एक सातामै २२५ अंकको छलाङ

काठमाडौं । यो साता पुँजी बजार लगानीकर्ताका लागि फलिफाप देखिएको छ । घट्यो क्रममा रहेको सेयर बजार यो सातादेखि उकालो लागेको छ । आइतबार नेप्से २५५७.०१ अंकमा खुलेको थियो भने बिहीबारसम्म आइपुग्दा २७८२.११ विन्दुमा पुगेको छ । यो साता सेयर बजारले २२५ अंकको छलाङ लियो ।

यो साता कारोबार भएको ५ दिनै नेप्से सूचक दोहोरो अंकले बढ्यो । सोमबार साताकै उच्चतम विन्दु ८७.६३ अंकले नेप्से बढेको थियो । बिहीबार भने १२.९८ अंकले बढेको छ । आइतबार २७.५१ अंक, सोमबार ८७.६३ अंक, मंगलबार ७८.८२ अंक र बुधबार १८.०८ अंक र बिहीबार १२.९८ अंकले बढेर २७८२.११ विन्दुमा पुगेको छ ।

गत भदौ २ गते नेप्से इतिहासकै उच्च विन्दु ३१९८.६ अंकमा पुगेको थियो । त्यस भने बजार निरन्तर रुपमा ओरालो लागेको थियो । कार्तिक २ गते बजार घटेर २५१०.७३ अंकसम्म आइपुगेको थियो । २ महिनाको अवधिमा नेप्से ७८७.८७ अंकले घटेको थियो । पछिल्लो ८ करोबार हेर्दा बजारमा पुनःउत्साह फर्किएको देखिन्छ । कार्तिक २ गतेपछि नेप्से २७१ अंकले फर्किसकेको छ ।

विगतका तुलनामा यो साता कारोबार रकममा पनि केही सुधार भएको देखिन्छ । विगतमा सेयर बजारमा दैनिक करिब ३, ४ अर्ब रुपैयाँको कारोबार हुँदै आएको थियो । यो साताको २ करोबार ६ अर्ब रुपैयाँभन्दा बढी भएको छ ।

कार्तिक लागेपछि बजार पुँजीकरण १ खर्ब ७५ अर्ब २० करोड रुपैयाँले वृद्धि भएको छ । असोज मसान्तममा बजार पुँजीकरण ३७ खर्ब १९ अर्ब ७१ करोड रुपैयाँ थियो । कार्तिक ११ गते आइपुग्दा बजार पुँजीकरण ३८ खर्ब ९४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति जारी भएसँगै सेयर बजार घट्दो क्रममा देखिएको थियो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् सेयर धितो कर्जामा लगाम कस्ने काम गरेको छ । उक्त नीतिगत व्यवस्थाका कारण पुँजी बजार चपेटामा परेको थियो । जसका कारण बजार निरन्तर रुपमा घट्न पुग्यो । र, लगानीकर्ताले पुँजी बजारबाट ठूलो रकम गुमाउन पुगे ।

मौद्रिक नीति जारी हुनु अघिसम्म लगानीकर्ता तथा संस्थाले मागे जति सेयर धितो कर्जा लिन सक्ने व्यवस्था थियो । तर, मौद्रिक नीतिले लगानीकर्ता तथा संस्थाले एउटा वित्त संस्थाबाट ४ करोड रुपैयाँ र अन्य वित्त संस्था समेतगरी अधिकतम १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लगाउने व्यवस्था गरेको थियो । जसका कारण कर्जा लिएर सेयरमा लगानी गर्नेहरु मर्कामा परेका थिए । उनीहरु थप सेयरमा लगानी गर्न नसक्ने अवस्थामा पुगे ।

राष्ट्र बैंकको तथ्यांकले पनि उक्त कुरालाई पुष्टि गर्छ । २०७८ साउनमसान्तसम्म सेयर धितो कर्जा १ खर्ब ८ अर्ब ५१ करोड रुपैयाँ प्रवाह थियो । राष्ट्र बैंकको तथ्यांकअनुसार भदौमा भने सेयर धितो कर्जा घटेको देखिन्छ । भदौमा सेयर धितो कर्जा ४ अर्ब १ करोड रुपैयाँले घटेर १ खर्ब ४ अर्ब ४९ करोड रुपैयाँमा झरेको छ ।

यसले पनि सेयर धितो राखेर लगानी गर्नेले कर्जा घटाउदै गएको देखिन्छ । सेयर धितो कर्जाको रकम घट्दा पनि बजार बढ्दा बजारमा बचतबाट लगानी गर्ने हावी भइरहेको बुझ्न सकिन्छ । सेयर कारोबार गर्नका लागि ४५ लाख ७९ हजार ३७५ जनाले डिम्याट खाता खोलिसकेका छन् । नेपालको कुल जनसंख्याको करिब १५ प्रतिशत पुँजी बजारको पहुँच पुगिसकेको छ । सेयर बजारमा कर्जा लिएर क्षणिक अवधिमा नाफा कमाउन खोज्ने लगानीकर्ताको तुलनामा बचतबाट लामो समयसम्म लगानी गर्न चहानेको संख्या बढी रहेको छ । यसले पनि बजारलाई सहयोग गरेको देखिन्छ ।

साथै, पछिल्लो समय विश्वमा कोरोनाको संक्रमण बढ्दो क्रममा छ । यूरोपियन मुलुक तथा चीनमा कोरोनाको संक्रमणको दर उच्च देखिएको छ । चीनका केही राज्यमा लकडाउन घोषणा भइसकेको छ । पछिल्लो समय नेपालमा पनि संक्रमणको दर उच्च नै देखिएको छ । यसले गर्दा अन्य क्षेत्रमा नयाँ लगानी नप्पिने सम्भावना न्यून छ ।

यस्तो अवस्थामा अन्य क्षेत्रमा हुनु पर्ने लगानी पनि सेयर बजारमा भित्रिने सम्भावना उच्च छ । साथै, पछिल्लो समयमा नेप्सेमा सूचिकृत कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् । उच्च लाभांश दिने कम्पनीहरुको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्दो छ ।

साथै, अहिलेको सरकारले चुनावी सरकार पनि हो । पुँजी बजारमा रहेका करिब ४६ लाख लगानीकर्ताको मतलाई आकर्षित गर्नका लागि सरकारले पुँजी बजार सुधारको कार्यक्रमहरु पनि घोषणा गर्ने सम्भावना छ । साथै, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आउने क्रममा छ ।

मौद्रिक नीतिमा गरिएको व्यवस्थाले गर्दा नै सेयर बजार घटेको भन्ने आरोप छ । सेयरका लगानीकर्तामा उत्साह प्रवाह गर्नका लागि राष्ट्र बैंकले ४–१२ को नीतिलाई संशोधन गर्न सक्ने सम्भावना उच्च छ । यसका लागि अर्थमन्त्रीले पनि गभर्नरलाई दावाव दिइरहेका छन् ।

पछिल्लो समय निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्न थालेसँगै कार्तिक महिनाको लागि उच्च ब्याजदर दिने घोषणा गरेको थिए । ब्याजदर वृद्धिको चौतर्फी विरोध शुरु हुन थाल्यो । अन्तत नेपाल राष्ट्र बैंकले ब्याजदरमा लगाम कस्यो ।

राष्ट्र बैंकले कार्तिक २ गते ३ बुँदे निर्देशन जारी गर्दै अघिल्लो महिनाको तुलनामा १० प्रतिशतले मात्र ब्याजदर परिवर्तन गर्न सक्ने व्यवस्था गर्यो । यो व्यवस्थाले गर्दा विगतमा जस्तो ब्याजदरमा धेरै उतार चडाव आउने सम्भावना देखिदैन । सेयर र ब्याजदर बीच एक अर्कामा अन्तर सम्बन्ध छ । ब्याजदर उच्च रहर्यो भने सेयर बजार घट्छ ।

ब्याजदर कम हुँदा सेयर बजार बढ्छ । बैंकहरुसँग तरलताको अभाव देखिए पनि ब्याजदर स्तिर रहने देखिएको छ । पुँजी बजार विकासका लागि सकारात्मक महोल सिर्जना हुने क्रममै छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स