काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओमा अन्तिम दिनसम्म मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा बुधबार साँझ ५ः११ बजेसम्ममा १० लाख १२ हजार ३८४ जना आवेदकले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।
कम्पनीको आईपीओमा १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँ रुपैयाँ बराबरको आवेदन परेको छ ।
जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको १९.३२ गुणा बढी हो ।
कम्पनीको सेयर ५५ हजार ५२१ जनाले हात पार्ने छन् भने बाँकी साढे ९ लाख भन्दा बढीको हात खाली हुने भएको छ ।
सर्वोत्तम सिमेन्टले फागुन १३ गतेबाट आज फागुन १६ गतेसम्म बुक बिल्डिङमार्फत सर्वसाधारणलाई कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्काशन गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आईपीओ जारी गरेको हो ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।