काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओमा पहिलो दिनमै मागभन्दा ३.१२ गुणा बढी आवेदन परेको छ । कम्पनीको आइतबार साँझ ५ः११ बजेसम्ममा १ लाख ५६ हजार २०७ जना आवेदकले ८६ लाख ६० हजार ६४० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।
कम्पनीको आईपीओमा ३ अर्ब १२ करोड ५६ लाख २४ हजार ९७६ रुपैयाँ बराबरको आवेदन परेको छ ।
जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको ३.१२ गुणा बढी हो ।
सर्वोत्तम सिमेन्टले आज फागुन १३ गतेबाट बुक बिल्डिङमार्फत सर्वसाधारणलाई कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्काशन गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आईपीओ जारी गरेको हो । यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिन्छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा एक जनाले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।