बचतबाट लगानी गर्ने बढेसँगै बजार नयाँ उचाइतर्फ अग्रसरः अम्बिकाप्रसाद पौडेल

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक २१२ अंकले बढेको छ । आइतबार नेप्से २५५७.०१ अंकमा खुलेको थियो भने बुधबार आइपुग्दा २७६९.१३ विन्दुमा पुगिसकेको छ । यो साताको पहिलो ४ करोबारमा नेप्से आइतबार २७.५१ अंक, सोमबार ८७.६३ अंक, मंगलबार ७८.८२ अंक र बुधबार १८.०८ अंकले बढेर २७६९.१३ विन्दुमा पुगेको छ ।

मंगलबार र बुधाबार ६ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको छ । नेप्से सूचक सहित कारोबार रकम पनि सुधारउन्मुख देखिएको छ । सेयर विश्लेषक तथा लगानीकर्ताहरुले बजारले वियरिस ट्रेण्ड छोडेको बताउन थालेका छन् ।

सेयर बजारले नयाँ उचाइ हासिल गर्ने बाटोतर्फ अग्रसर भएको ठूला लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले बताए ।

‘पछिल्लो केही समय बजार करेक्सनमा थियो । सेयर बजार स्वभाविक रुपमा नै करेक्सन हुन्छ,’ पौडेलले हाम्रोअर्थसँग भने, ‘केही दिन यता बजारले वियरिस ट्रेण्ड छोडेको छ । अब बजार माथिल्लो अंककै हो ।’

३२ सय अंकसम्म पुगेको सेयर बजार २५ सय अंकमा झर्दा धेरै लगानीकर्तामा बजारले वियरिस ट्रेण्ड समातेको हो कि भन्ने आशंका उत्पन्न भएको थियो । बजार बढ्नेका लागि करेक्सन आवश्यक पर्छ । पछिल्ला दिनको घटाइ बजार बढ्नका लागि भएको पौडेलले बताए ।

‘३२ सय विन्दु सेयर बजारको उच्चतम सूचक हैन । यो अझै बढ्न बाँकी छ । नयाँ उच्च विन्दु पुग्न केही समय लाग्छ,’ उनले भने, ‘ढिलो चाँडो बजार ३२ सयको विन्दुलाई पछि छाडेर अघि बढ्छ । लगानीकर्ताले केही समय पर्खिनु पर्छ ।’

बजार ३२ सयको विन्दुमा पुग्दा पनि वाणिज्य बैंकको सेयर मूल्य अन्य कम्पनीको तुलनामा कम थियो । अहिले पनि वाणिज्य बैंकको सेयर मूल्य कम छ । वाणिज्य बैंकहरुको सेयर मूल्य एउटा निश्चित विन्दुमा नपुगेसम्म बिलुस ट्रेण्ड सकिएको मान्न नसकिने उनले बताए ।

पुँजी बजारमा नयाँ तथा साना लगानीकर्ताको संख्या उल्लेखनिय रुपमा वृद्धि भएको छ । राज्यले पनि पुँजी बजार सुधारका लागि नीतिगत कार्यक्रमहरु घोषणा गर्न बाँकी छ । अहिले थपिएका धेरै लगानीकर्ता लामो समयसम्मका लागि पुँजी बजारमा टिक्नेगरी आएका छन् । कर्जा लिएर सेयरमा लगानी गर्नेको जमात कम भइरहेको छ । पछिल्लो समय सेयर धितो कर्जा ४ अर्ब रुपैयाँले घटेको छ ।

नयाँ लगानीकर्ताहरु आफूसँग भएको बचतलाई सेयरमा लगानी गरेका छन् । यस्ता लगानीकर्ताहरु बाटै सेयर बजारको संरक्षण हुने हो । छोटो समयमा नाफा कमाउन खोज्नेहरु कर्जा लिइएर लगानी गर्छन् । विगतमा दीर्घकालीन सोच राखेर लगानी गर्ने लगानीकर्ताको अभाव हुँदा बजार बढ्न सकेको थिए ।

लामो रेसका घोडा बन्ने दृढ विश्वासका साथ नयाँ लगानीकर्ताहरुले बचतको रकम प्रयोग गरेका छन् । यसले गर्दा पनि बजारले नयाँ उचाइ लिनेमा पौडेल विश्वस्त देखिन्छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स