बिचबिचमा अलिअलि तलमाथि भए पनि सेयर बजार ‘अलटाइम हाई’ हुन्छः दिपेन्द्र अग्रवाल

काठमाडौं । यो साताको पहिलो ३ कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब २ सय अंकले बढेको छ । नेप्से आइतबार २७.५१ अंक, सोमबार ८७.६३ अंक र मंगलबार ७८.८२ अंकले बढेर २७५१.०७ विन्दुमा पुगेको छ ।

आज कारोबार भएका सबै समूहगत सूचक बढेका छन् भने ६ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ ।

सेयर विश्लेषक तथा लगानीकर्ताहरु बजारले फेरी नयाँ उचाई दिने बताउन थालेका छन् । सरकार तथा नियमक निकायले पछिल्लो समय सेयर बजारलाई सकारात्मक दृष्टिकोणले हर्न थालेकाले बजार बढ्नेमा विश्वस्त भएको लगानीकर्ता दिपेन्द्र अग्रवाल बताउँछन् ।

‘वाणिज्य बैंकहरुले ब्याजदर बढाउँदा राष्ट्र बैंकले निर्देशन जारी गर्दै निक्षेपको ब्यादरमा एकरुपता कायम गरेको छ । बजारमा तरलता कम हुँदा पनि ब्याजदर बढ्दैन भन्ने विश्वास जागेको छ,’ अग्रवालले भने, ‘ब्याजदर स्थिर रहने देखिएकाले पनि लगानीकर्ता मनोबल उच्च भएको छ । यसले बजारलाई सकारात्मक ऊर्जा प्रदान गरेको छ ।’

पछिल्लो समय विश्वमै कोरोनाको संक्रमण बढ्दो क्रममा छ । यूरोपियन मुलुक तथा चीनमा कोरोना संक्रमणको दर उच्च देखिएको छ । चीनका केही राज्यमा लकडाउन घोषणा भइसकेको छ । नेपालमा पनि तेस्रो लहर नआउला भन्न सकिदैनस ।

यसले गर्दा पनि अन्य क्षेत्रमा लगानी थप लगानी हुन सक्ने सम्भावना कम छ । जसले गर्दा ब्याजदर नबढ्ला भन्ने विश्वास गर्न सकिने अग्रवाल बताउँछन् ।

पछिल्लो समय सरकार पुँजी बजारको सम्बन्धमा सकारात्मक बन्दै गएको उनको बुझाइ छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा आउने क्रममा छ । यसले ४–१२ को नीतिलाई केही न केही संशोधन गर्छ भन्ने उनले अपेक्षा गरे ।

‘४–१२ को नीतिले लगानीकर्ता खरिद गर्न सक्ने क्षमतामा संकुचन आएको थियो । लगानीकर्तालाई थप कर्जा लिएर सेयर किन्न बन्देज लगाइएको अवस्था छ । जलविद्युत तथा बीमा कम्पनीलाई पनि सेयर खरिद बिक्रीमा अंकुश लगाइएको थियो । इन्भेष्टमेन्ट कम्पनी र व्यक्तिको हकमा ४–१२ को क्याप लगाएर खरिद क्षमता शून्यमा झारियो ।’

तीव्र गतिमा अघि गुडेको गाडीलाई एककै पटक ब्रेक लगाउँदा पल्टिन्छ । राष्ट्र बैंक र अन्य नियमक निकायले सेयर बजारमा लगाम लगाउँन खोज्दा ३२ सयबाट नेप्से २५ सय अंकसम्म झर्न पुगेको थियो ।

पछिल्लो केही दिनको कारोबार तथा नियमक निकायको अबलम्बन गर्न सक्ने नीतिलाई विश्लेषण गर्दा बजार सुधार उन्मुख भएको उनले बताए ।

‘नीतिगत जटिलताका कारण आपत परेका लगानीकर्ताहरुले सेयर बिक्री गरिसकेका छन्,’ अग्रवालले भने, ‘यसले गर्दा पनि बजार विस्तारै फर्किरहेको छ ।’

हरेक क्षेत्रमा प्रत्येक वर्ष कर्जा प्रवाह बढ्ने गरेको छ । तर, सेयर धितो कर्जा भने घटेको देखिएको छ । २०७८ साउन महिनासम्म सेयर धितो कर्जा १ खर्ब ८ अर्ब ५१ करोड रुपैयाँ प्रवाह भएको थियो । भदौमा ४ अर्ब १ करोड रुपैयाँले सेयर धितो कर्जा घटेर १ अर्ब ४ अर्ब ४९ करोड रुपैयाँमा कर्जा प्रवाह भएको छ ।

पछिल्लो समय नियमक निकायले सेयर बजारलाई प्रतिकुल असर गर्ने नीति तर्जुमा गर्दा बजार घटेको थियो । उक्त नीतिलाई सुधार गर्ने वित्तीकै बजारले फेरी नयाँ रेकर्ड बनाउने अग्रवालको दावी छ ।

लगानीकर्ताहरुले सप्लाई कम भएका र उच्चतम लाभांश घोषणा गरेका कम्पनीका सेयर खरिद गरिरहेका छन् । यसले गर्दा पनि बजार मजबुत बनिरहेको छ ।

नेपालमा ४६ लाख लगानीकर्ता छन् । यो भनेको कुल जनसंख्याको करिब १५ प्रतिशत हो । भारतमा हालसम्म १० प्रतिशत पुग्न सकेको छैन । भारतको सेन्सेक्स ६२ हजार पुग्न लागि सकेको छ । नेपालको जनसंख्या अनुसार पुँजी बजारको पहुँच राम्रोसँग विस्तार भएको छ ।

‘नीतिगत रुपमा वा नियमाक निकायमा बसेका अधिकारीहरुले बजारको अवस्थालाई नबुझेर रोक्न खोजेका छन् । पुँजी बजारलाई रोक्ने हो भने पुरै रोक्नु पर्छ नत्र भने यसलाई आफ्नै गतिमा चल्न दिनु पर्छ,’ उनले भने, ‘बजारलाई खुल्ला छोड्ने हो भने नेप्सेले नयाँ रेकर्ड बनाउँछ ।’

अन्य मुलुकमा पुँजी बजार घट्दा अर्थमन्त्री, गभर्नरले बजारको विषयमा सकारात्मक वक्तव्य दिन्छन् । तर, हाम्रो मुलुकमा बढ्दो बजारलाई कसरी घटाउने भन्ने किसिमबाट वक्तव्य तथा नियमहरु तर्जुमा गरिन्छ । ४–१२ को सीमा संशोधन हुने वित्तीकै बजारले हालसम्मको उच्च विन्दु पारे गर्ने उनले विश्वास व्यक्ति गरे ।

बिचबिचमा केही समय बजार तलमाथि हुन सक्छ । यस्तो अवस्थामा लगानीकर्ताले सम्यम गुमाउन हुँदैन । धैर्य नगुमाउने लगानीकर्ताले नै नाफा कमाउने गर्छन् ।

‘अन्त्यमा बजारले नयाँ उच्च विन्दु समात्छ । बजारको प्रकृति नै भविष्यमा बढ्ने हुन्छ,’ अग्रवालले भने, ‘सरकारले सही ढंगले नियम गर्ने हो भने पुँजी बजार सकारात्मक रुपमा अघि बढ्ने छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स