काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले कम्पनीको आईपीओ आज बुधबार बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा कुल ३३ हजार ८ सय २४ जनाको आवेदन परेको थियो । जस मध्ये १४ जनाको आवेदन रद्द भएको र कुल ३३ हजार ८ सय १० जना मात्र सेयर पाउन योग्य रहेको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले सेयर गोलाप्रथाबाट बाँडफाँट गरिएको छ । जस अनुसार ५ हजार ३ सय ४० जनाले ५० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ ।
सर्वोत्तम सिमेन्टले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गरेको हो । बुक विल्डिंगको नियममा नै न्युनतम ५० कित्ता सेयर बाँडफाँट गर्नु पर्ने व्यवस्था रहेकोले गोलाप्रथाबाट न्युनतम ५० कित्ता सेयर पर्ने गरि बाँडफाँट गरिएको हो । आईपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, मेरोशेयर र सिडीएसले आईपीओ नतिजाको लागि संचालक गरेको वेबसाइटबाट हेर्न सकिन्छ ।