काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको बुक बिल्डिङ विधिबाट निष्काशन भएको आईपीओमा योग्य संस्थागत लगानीकर्ताहरुले पेश गरेको बोलपत्र खोलिएको छ । उक्त बोलपत्र नेपाल स्टक एक्सचेञ्च (नेप्से)को कार्यालयमा आज माघ १५ गते खोलिएको हो ।
योग्य संस्थापक लगानीकर्ताले पेश गरेको बोलपत्रमार्फत यस कम्पनीको कट अफ मूल्य ९१२ रुपैयाँ निर्धारण हुने प्रारम्भिक नतिजाले देखाएको नेप्सेले जानकारी गराएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यस निष्काशनमा कुल ६४ वटा आवेदन परेको थियो । जसमा १८ वटा संस्थाले ९१२ रुपैयाँमा सेयर खरिदाको लागि आवेदन दिएका छन् । कम्पनीको सेयरको कटअफ मूल्य पनि ९१२ नै कायम भएको छ । ९१२ मा आवेदन दिनेले समानुपातिक रुपमा सेयर पाउने छन् ।
९१२ मा आवेदन दिनेले आवेदन दिएको सेयरको ६५.७२ प्रतिशत सेयर मात्र पाउने छन् । ९१२ भन्दा माथिको लागि आवेदन दिनेले भने माग गरे बमोजिम कै सेयर पाउने छन् । रिलायन्सको बोलकबोलका लागि प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम गरिएको थियो । यस सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो । माथिल्लो बिन्दुमा नै कट अफ मूल्य तय भएको हो ।
संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रका आधारमा कायम भएको कट अफ मूल्यबाट १० प्रतिशत घटाएर सर्वसाधारणलाई आईपीओ जारी गर्नुपर्ने व्यवस्था रहेको छ । यसआधारमा, अब रिलायन्सको आईपीओ सर्वसाधारणलाई प्रतिकित्ता ८२०.८० रुपैयाँमा जारी हुनेछ । बुक विल्डिङ विधिबाट जारी हुने आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था रहेको छ ।
तसर्थ, सर्वसाधारणले रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा आवेदन दिन न्यूनतम ४१ हजार ४० रुपैयाँ छुट्याउनुपर्ने देखिएको छ । रिलायन्सले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४५ प्रतिशत ले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि माघ १० गतेदेखि १४ गतेसम्म ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर बोलकबोल गरेको हो ।
रिलायन्स स्पिनिङ मिल्स बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने दोस्रो कम्पनी बनेको छ । सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी हो ।