बुक बिल्डिङ प्रक्रियामार्फत रिलायन्स स्पिनिङ मिल्सको सेयर निष्काशन खुला

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ प्रक्रिया मार्फत आज (माघ १० गते) देखि सेयर निष्काशन खुला गर्दैछ । कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुका लागि सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पुँजीको १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो । नेपाल धितोपत्र बोर्ड (सेबोनमार्फत) प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता सेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको छ ।

कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरु सहभागी गराइ बिक्री मूल्यको सीमा भित्र रहि बोलकबोल मार्फत सेयर बिक्री गर्न लागेको हो । कम्पनीको सेयरमा माघ १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । योग्य संस्थागत लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय भद्रकाली प्लाजामा गई बोलपत्र आवेदन फाराम बुझाउनु पर्नेछ ।

बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलीपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरुलाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ। कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँट गरिनेछ। कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र नगरिने कम्पनी जनाएको छ।

शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स