काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुन:संरचना कामको प्रस्ताव फेरी अर्थ मन्त्रालय पुगेको छ । नेप्सेको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले निर्णय गरेर नेप्सेको पुन:संरचनाको लागि मन्त्रालयमा प्रस्ताव गरेको हो ।
यसअघि नेप्सेका अध्यक्ष भुपाल बराल हुँदा नेप्सेले प्रतिवेदन अर्थमन्त्रालय पठाएको थियो । नेप्सेले पठाएको उक्त वित्तीय व्यवस्थापन महाशाखामा अर्थात बरालकै महासाखाबाट पास हुन नसके पछि नेप्से नयाँ अध्यक्ष्य शोभाकान्त पौडेल नियुक्त भएका छन । पौडेल नियुक्त भएपछि बसेको बोर्डको सञ्चालक समितिको बैठकले उक्त प्रतिवेदन फेरि मन्त्रालय पठाएको हो ।
नेप्सेले पुनसंरचनाको प्रस्तावमा आफ्नो चुक्ता पुँजी ३ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव राखेको छ । हाल नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । सर्वसाधारणलाई उक्त पुँजीको ३० प्रतिशत आईपीओ जारी गर्न दिने र अन्य संघ संस्थालाई ३६ प्रतिशत आईपीओ दिएर कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ पुर्याउने गरी प्रस्ताव पेस गरिएको छ ।
नेप्सेको उक्त प्रस्वावलाई कार्यन्वयन गर्न प्रतिवेदन अर्थमन्त्रालयबाट पास हुनुपर्छ । अर्थमन्त्रालयबाट पास भएपछि उक्त प्रतिवेदनलाई मन्त्री परिषद्को बैठकले पास गर्नुपर्ने व्यवस्था रहेको छ । त्यस पछि मात्र नेप्सेको आईपीओ निष्काशन प्रक्रिया अगाडि बढ्ने छ ।
यस्तो छ नेप्सेले प्रस्ताव गरेको सेयर संरचना : (चुक्ता पुँजी ३ अर्ब)
सर्वसाधारण ३० प्रतिशत , नेपाल सरकार १९.५५ प्रतिशत, नेपाल राष्ट्र बैंक ३.१७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ३.७४ प्रतिशत, कर्मचारी संचय कोष ३.३३ प्रतिशत, लक्ष्मी बैंक १.६७ प्रतिशत, प्रभु बैंक १.६७ प्रतिशत, अन्य संस्थापकहरु ०.२ प्रतिशत, पुनर्बीमा कम्पनी, जीवन तथा निर्जीवन कम्पनी १३.३३ प्रतिशत, वाणिज्य बैंक तथा राष्ट्रिय स्तरको विकास बैंक १३.३३ प्रतिशत, सरकारी स्वामित्वका संस्थान १० प्रतिशत
यस्तो छ हालको सेयर संरचना : (चुक्ता पुँजी १ अर्ब)
नेपाल सरकार ५८.६६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ११.२४ प्रतिशत, नेपाल राष्ट्र बैंक ९.५ प्रतिशत, कर्मचारी संचय कोष १० प्रतिशत
लक्ष्मी बैंक ५ प्रतिशत, प्रभु बैंक ५ प्रतिशत, अन्य ०.६० प्रतिशत