काठमाडौं । एपोलो हाईड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ ।
मंगलबार कम्पनीले १४ लाख १० हजार कित्ता साधारण सेयर प्रत्याभूति व्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटलसँग सम्झौता गरेको हो ।
उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष आङ तेन्जी शेर्पा र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले निमार्ण गरी रहेको बुकु खोला जलविद्युत् आयोजना ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका,सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका भई बग्ने बुकु खोलाको पानी उपयोग गरेर ६ मेवा क्षमताको विद्युत् आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग विसं २०७५ साउन २२ गते विद्युत खरिदबिक्री सम्झौता गरी उक्त आयोजनाको निमार्ण कार्य ५५ प्रतिशत सम्पन्न गरिसकेको बताएको छ ।