काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले ऐन र कानुनको परिधिभित्र बसेर सबैले कमाउन पाउनु पर्ने बताएका छन् । आज माछापुच्छ्रे सेक्युरिटीज उद्घाटनको क्रममा उनले आर्थिक क्षेत्रको सुशासनभित्र रहेर सबैले कमाउन पाउनु पर्ने बताएका हुन् ।
‘ब्रोकर लाइसेन्स खुलाउनको लागि ठूलो संघर्ष गर्नु पर्यो’ उनले भने ‘बोर्ड कै इतिहासमा पहिलो पटक निश्चित समयभित्र ऐन र कानुनको परिधिभित्र रहेर लाइसेन्स वितरण गर्ने काम भएको हो ।’ पछिल्लो समय ४१ वठा ब्रोकर कम्पनी थपिएका छन्’, अध्यक्ष हमालले भने ‘निश्चित समयभित्र ब्रोकर लाइसेन्स आउनु पर्छ भन्ने जिम्मेवारी बोकेर हिडेका थियौ । त्यो भयो पनि ।’
आम नागरिकले उच्चतम सेवाको गुणस्तर पाउनुपर्छ भन्ने पहिलो मान्यता बोकेर आफू सधै नेपाल र नेपालीलाई समृद्ध बनाउने पटमा हिडेको बताए । ‘पहिलो पटक प्रणालीमा बसेर काम गर्ने अभ्यास सुरु भएको छ’, उनले थपे ‘निश्चित समय सीमा भित्र लाइसेन्स पाउने वा नपाउने प्रणाली बनेको छ ।’
ब्रोकरको शाखा खोल्नको लागि पनि १५–१९ महिना कुर्नपर्ने बाध्यता हटेको छ । नियामकलाई त शाखा खोलिसकेपछि जानकारी दिने हो । घाँटी थिचेर राखेर विकास हुँदैन । खुला आकाशमा छोडिदिनु पर्छ । तजबिजीमा चल्दै आएको हाम्रो व्यवस्था अब प्रणालीभित्र छिरेको अध्यक्ष हमालले जानकारी दिए ।
‘मैले धितोपत्र बोर्डमा अध्यक्षको कार्यभार सम्हालेको २१ महिना भयो’, उनले थपे ‘यो अवधिमा २० वटा मेजर काम गरे । ३० वर्षको इतिहासमा जम्मा १० वटामात्रै मुख्य काम भएको रहेछ ।
एनआरएसनका संस्थापक अध्यक्ष तथा माछापुछ्रे बैंकका निवर्तमान अध्यक्ष डा. उपेन्द्र महत्तोलाई सम्बोधन गर्दै उनले भने ‘उहाँ र म एनआरएन स्थापना कालदेखिनै विदेशमा रहेका नेपालीको सीप, साधन र स्रोतको परिचालन गरेर नेपाललाई समृद्ध बनाउनु पर्छ भन्ने अभियानमा लागको मान्छे हौं । देश र आम नागरिक समृद्ध बनाउने प्रयास जारी रहने छ ।’