काठमाडौं । भोलि मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले कम्पनीको आईपीओ भोलि मंसिर १९ गते मंगलबार बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।
कम्पनीको आईपीओमा अन्तिमदिन सम्म १३ लाख २२ हजार ९५४ जना आवेदकले १ करोड ४३ लाख २८ हजार १८० कित्ताका लागि आवेदन दिएका थिए । जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको १२.४८ गुणा बढी हो । कम्पनीको आईपीओमा १ अर्ब ४३ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
माग भन्दा बढी आवेदन परेको हुँदा कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा १ लाख १४ हजार ८०० जनाले १०/१० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी १२ लाख ९ हजार ५६७ जनाको हात खाली हुने भएको छ ।
कम्पनीले मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्म सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँबराबरको आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो। कम्पनीले पहिलो चरणमा १४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरि बाँडफाँट गरिसकेको छ ।
यसपछि कम्पनीले दोस्रो चरणमा ४२ हजार कित्ता सेयर कर्मचारी र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ ।
सर्वसाधारणलाई सेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ७० करोड पुग्ने छ ।