काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले आज मंसिर १२ गते अन्तिम दिन रहेको हो ।
कम्पनीले मंसिर ८ गतेदेखि सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँबराबरको आईपीओ निष्काशन गर्न अनुमति पाएको छ। कम्पनीले पहिलो चरणमा १४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरि बाँडफाँट गरिसकेको छ ।
यसपछि कम्पनीले दोस्रो चरणमा ४२ हजार कित्ता सेयर कर्मचारी र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ ।
सर्वसाधारणलाई सेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ७० करोड पुग्ने छ ।