सर्वोत्तम सिमेन्टको ‘कटअफ’ मूल्य ४०१ रुपैयाँ कायम, सर्वसाधारणलाई कति ?

काठमाडौं । नेपालमा पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टको प्राथमिक सेयरमा ‘कटअफ’ मूल्य ४०१ रुपैयाँ कायम भएको छ ।

सोमबार सर्वोत्तम सिमेन्टको आईपीओमा योग्य संस्थागत लगानीकर्ताहरुले पेश गरेको बोलपत्र सोमबार खोलिएको छ । योग्य संस्थापक लगानीकर्ताले पेश गरेको बोलपत्रमार्फत यस कम्पनीको कट अफ मूल्य ४०१ रुपैयाँ कायम भएको हो ।

यस निष्काशनमा ४१ वटा योग्य संस्थागत लगानीकर्ताले आवेदन दिएका थिए । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता सेयर निष्काशन गरेको थियो। उनीहरुले कुल ३६ लाख १९ हजार १ सय ९० कित्ताको लागि आवेदन दिएका हुन्।

जसमा कुमारी क्यापिटल र कुमारी क्यापिटलले संचालन गरेका २ वटा म्युचुअल फण्डले सबैभन्दा महँगो मूल्यमा बोलपत्र पेश गरेको छ । कुमारी क्यापिटलले ५ हजार कित्ता, कुमारी इक्विटी फण्डले १५ हजार कित्ता र कुमारी धनवृद्धि योजनाले २० हजार कित्ताको लागि बोलपत्र पेश गरेका छन् । यी ३ वटैले ४०६ रुपैयाँमा बोलपत्र पेश गरेका हुन् । जुन सबैभन्दा महँगो हो । नागरिक लगानी कोषले ४०५ रुपैयाँमा ४ लाख कित्ताको लागि बोलपत्र पेश गरेको छ ।

संस्थाहरुलाई कटअफ मूल्य ४०१ रुपैयाँ कायम भएसँगै सर्वसाधारणलाई कम्पनीको मूल्य प्रतिकित्ता ३६१ रुपैयाँ पर्ने भएको छ । बुकबिल्डिङ निर्देशिकाअनुसार संस्थालाई ‘कटअफ’ मूल्य निर्धारण भइसकेपछि सोको १० प्रतिशत मूल्य घटाएर मात्रै सर्वसाधारणलाई सेयर जारी हुनेछ ।

कम्पनीको सेयरका लागि संस्थाहरुलाई न्यूनतम मूल्य प्रतिकित्ता ४०१ रुपैयाँदेखि अधिकतम ६०१ रुपैयाँ ५० पैसाको रेञ्ज प्रदान गरिएको थियो । तर अधिकांश संस्थाहरुले न्यूनतम मूल्यमै बोलपत्रमार्फत प्रस्ताव गरेका छन् ।

कम्पनीले मंसिर ६ गतेदेखि मंसिर १० गतेसम्म योग्य संस्थागत लगानीकर्ताहरूका लागि जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बोलकबोलमार्फत् बिक्री खुला गरेको थियो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयरको बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म तोकिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स