नेपाल वेयरहाउजिङको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । नेपाल वेयरहाउजिङले आज मंसिर १० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्दैछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपछि सर्वसाधारणको लागि आईपीओको आवेदन खुला गरेको हो ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले आफ्नो जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीहरूका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा मंसिर १३ गते हुनेछ भने ढिलोमा मंसिर २४ गते हुनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स