काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओ भोलि बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको आईपीओ भोलि मंसिर ५ गते मंगलबार बिहान ९ बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ११ लाख ९४ हजार ८२० जना आवेदकहरुले १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएको छन् । जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको ६.५४ गुणा बढी हो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा २ लाख ७ हजार ५२८ जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी ९ लाख ८७ हजार २९२ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले कार्तिक १६ गतेदेखि कार्तिक २० गतेसम्म सर्वसाधारणका लागि २० लाख ७५ हजार २ सय ८५ कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीले स्थानीयलाई सेयर निष्काशन गर्दा बिक्री नभएको ४ लाख ८७ हजार ९ सय १० कित्ता समेत थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता सेयर निष्काशन गरेको थियो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०८० मङ्सिरबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।