काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले मंसिर १० गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ बिक्री गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो।
सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ।
कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीहरुका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। कम्पनीले बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयर बिक्री गर्न लागेको हो।
यस निष्काशनमा मङ्सिर १३ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।
कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४० हजार मेट्रिक टन क्षेमताको साइलो सहितको वेयरहाउस निर्माण सम्पन्न गरि संचालनमा ल्याएको छ भने कपिलवस्तु जिल्लामा १५ हजार मेट्रिक टन क्षेमताको साइलो जडान भईरहेको छ, र सो समेत पौष महिना सम्ममा संचालनमा ल्याउने तयारी गरेको छ ।
यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ। यस कम्पनीको हालको चुक्ता पुजी ५५ करोड रहेको छ ।