काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले कम्पनीको आईपीओ कार्तिक १६ गते बिहीबार दिउँसो १ बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख १२ हजार ६४५ जनाले एक करोड ३१ लाख ९९ हजार २४० कित्ताका लागि आवेदन दिएका थिए । जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको १५.३६ गुणाबढी हो ।
मागभन्दा बढी आवेदन परेकोले आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी ८५ हजार ९३० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने ११ लाख बढी आवेदकको हात खाली हुने देखिएको छ।
कम्पनीले असोज २३ गतेदेखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले १०० अंकित दरका कुल ८ लाख ५९ हजार ३०० कित्ता सेयर सार्वसाधारणलाई बिक्री खुला गर्नेछ। जसमा आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ लाख ९५ हजार ३०० कित्ता पनि थप गरेको हो।
कम्पनीले कर्मचारीलाई २ प्रतिशतले हुन आउने १६ हजार कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता सेयर बाँडफाँट गरिसकेको छ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।
कम्पनीले भोजपुर जिल्लामा ४.७ मेगावाटको अपर चिरख्वा हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीको आयोजनाको प्रति मेगावाट लागत २१ करोड २३ लाख छ। आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको कम्पनीले जनाएको छ ।