काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले कम्पनीको आईपीओ आज बिहान बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा कुल ११ लाख ९० हजार २ सय ९६ जनाले आवेदन दिएका थिए । जस मध्ये ११ लाख ८५ हजार ६ सय ४२ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । यस हिसाबमा ४६ सय ५४ जनाको आवेदन रद्द भएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ । योग्य आवेदक रहेका ११ लाख ८५ हजार ६ सय ४२ जनालाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरिएको हो । यस हिसाबमा गोलाप्रथाबाट १ लाख २८ हजार ४ सय २० जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।
कम्पनीले असोज १८ गतेदेखि असोज २२ गतेसम्म आईपीओ निष्काशन गरेको हो ।
यो सानिमा समूह अन्तर्गतको कम्पनीको हो । कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०९० साउन १५ बाट ब्यारिक उत्पादन थाल्ने लक्ष्य राखेको छ । आयोजनाको कुल लागत २ अर्ब ५० करोड अनुमान गरिएको छ । प्रति मेगावाट लागत भने १७ करोड ४८ लाख अनुमान गरिएको छ । हाल कम्पनीको चुक्ता पुंजी ७० करोड रहेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब पुग्ने छ ।
आईपीओको नतिजा प्रकाशन भएको केहि समयपछि यी ३ तरिकाबाट नतिजा हेर्न सकिने छ ।
१. बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट : https://www.sanima.capital/
२.सिडीएससीको मेरोशेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login
३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट : iporesult.cdsc.com.np/
मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।