सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)को असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको हो। योसँगै सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन स्वीकृति पाउने पहिलो कम्पनी बनेको छ।

कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयवासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ।

बोर्डले कम्पनीको सेयरको आधारमूल्य ५०१ रुपैयाँ तय गरेर योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने ब्यबस्था छ ।

सोहि अनुसार अब योग्य संस्थागत लगानीकर्ताले अधिकतम ६०१ (६०१.२०) र न्युनतम ४०१ (४००.८०) रुपैयाँ कबुल गरेर कम्पनीको आईपीओमा आवेदन दिन सक्ने छन्। योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुँदा कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँट गर्नुपर्ने ब्यबस्था छ । कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने छ ।

सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको सेयर बाँडफाँट भए पछि कम्पनीले सर्वसाधारणलाई सेयर निष्काशन गर्ने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

सर्वोत्तमले बुक बिल्डिङ विधिमार्फत् आईपीओ निष्काशन गर्न बोर्डमा २०७९ असार २८ गते निवेदन दिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स