नेपाल वेयर हाउजिङले कात्तिक १० गतेबाट आईपीओ निष्काशन गर्ने

काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक १० गतेबाट आईपीओ निष्काशन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल वेयर हाउजिङलाई जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १३ करोड ७५ लाख रुपैयाँबराबरको आईपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो। त्यसमध्ये कम्पनीले १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ लाख ३७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गर्न लागेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। उनीहरुले धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेकाले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

यस कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेडले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको ‘आइआरएन डबल बी माइनस (आइएस)’ रेटिङ दिएको छ ।

कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४० हजार मेट्रिकटन क्षमताको साइलोसहितको वेयरहाउस निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ भने कपिलवस्तु जिल्लामा १५ हजार मेट्रिक टन क्षमताको साइलो जडान भइरहेको छ र सोसमेत पुस महिनासम्ममा सञ्चालनमा आउनेछ।

नेपाल वेयर हाउजिङ कम्पनीले व्यापारिक र औद्योगिक उद्देश्यका लागि अन्नको व्यापार गर्ने किसान, व्यापारी, मिलर र व्यापारीहरुको अन्न भण्डारण आवश्यकताहरु पुरा गर्दै आएको छ । कम्पनीले प्रदेश नम्बर १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिक टन क्षमताका भण्डारण गृहहरु सञ्चालन गर्दै आएको जानकारी गराएको छ ।

कम्पनीले सञ्चालन गर्न लागेको र निर्माण भइरहेका परियोजनाहरुको लागत १६२.७५ करोड रहेको छ। सो लगानीमध्ये ९४ करोड ऋण र बाँकी स्वपुँजीबाट परिचालन गरिने कम्पनीले जनाएको छ।

ऋणको व्यवस्थापन एभरेस्ट बैंकको अगुवाइमा नेपाल एसबीआई बैंक, हिमालयन बैंक, साबिक बैंक अफ काठमाण्डू, कृषि विकास बैंकको सहवित्तीयकरणमा गरिएको कम्पनीले जनाएको छ। कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, प्रोबियोटक इन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमबि बैंक, टिम भेन्चर्स, टीएनआई, निफ्रा, मुक्तिनाथ कृषि, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्टलगायतका लगानीकर्ताबाट लगानी जुटाइको छ।

कम्पनीको हालको चुक्तापुँजी ५५ करोड रहेकोमा साधारण निष्काशनबाट १३ करोड ६५ लाख जुटाइने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स