काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म १.५१ गुणा बढी आवेदन परेको छ । आज साँझ ५ः१३ बजेसम्ममा ११ लाख १३ हजार ८५५ जनाले १ करोड ४७ लाख ६५ हजार १२० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ ।
जुन कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको ९७ लाख ३२ हजार ५४४ कित्ता सेयरको १.५१ गुणा बढी हो ।
कम्पनीले असोज १४ गतेदेखि आज असोज १८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
सोमध्ये पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्काशन गरेको थियो। सो सेयरमा स्थानिय बासिन्दाहरूले १ लाख ३४ हजार ५२० कित्ताका लागि मात्र आवेदन दिएका थिए । रितपूर्वक आवेदन दिएका आवेदकलाई माग गरे बमोजिम सेयर बाँडफाँट गरिसकेको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरूका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँट गरिसकेको छ ।
अब दोस्रो चरणमा कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्काशन गरेको हो।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको आईपीओमा आवेदन दिएका एक लाख ४० हजार भन्दा धेरैको हात खाली हुने भएको छ ।