काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मनकामना इन्जिनियरिंङ हाइड्रोपावर लिमिटेड र अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर कारोबार सुरु भएको छ । सोमबार स्पेसन प्रि ओपन सेसनमा यी कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएको हो ।
मनकामना इन्जिनियरिंङको पहिलो कारोबार प्रति कित्ता २२२ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतममा ७४ रुपैयाँ र अधिकतममा २२२ रुपैयाँ तोकेको थियो । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने व्यवस्था थियो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न गरेको छ । नेप्सेले कम्पनीलाई ‘आरटीएस’ कारोबार संकेत प्रदान गरेको छ। आइतबार कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ८० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
त्यसैगरि, अपर लोहोरे खोला हाइड्रोको पहिलो कारोबार प्रति कित्ता २९३ रुपैयाँमा भएको छ । पहिलो कारोबारका लागि भने नेप्सेले कम्पनीलाई प्रतिकित्ता न्यूनतममा ९७.८७ रुपैयाँ र अधिकतममा २९३.६१ रुपैयाँ तोकेको थियो। नेप्सेले कम्पनीलाई ‘यूएलएचसी’ कारोबार संकेत प्रदान गरेको छ। आइतबार कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ९८ हजार ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।