मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट हुने मिति तय, कति जनाको हात पर्दैछ सेयर ?

काठमाडौं । मिड सोलु हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले कम्पनीको आईपीओ असोज १० गते बुधबार साँझ ५ बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि ६ लाख २१ हजार १ सय ७२ कित्ता सेयर निष्काशन गरेको हो।

कम्पनीले यस अघि नै आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको सेयर बाँडफाँट गरिसकेको छ ।

कम्पनीको आईपीओमा अन्तिमदिनसम्ममा १३ लाख ५४ हजार ८४६ आवेदकले एक करोड ५१ लाख २२ हजार २५० कित्ताका लागि आवेदन दिएका थिए । जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको २४.३४ गुणा बढी हो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा ६२ हजार ११७ जनाले १०र१० कित्ता सेयर प्राप्त गर्नेछन् भने सो मध्येका २ जनाले ११ कित्ता सेयर हात पार्नेछन् । त्यस्तै, १२ लाख ९४ हजार ५८० जनाको हात रित्तो हुने देखिन्छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको साविक सल्लेरी गाविसमा ९.५ मेगावाट क्षमताको मध्य सोलुखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ। आयोजना प्रति मेगावाट लागत २१ करोड ९३ लाख रहेको छ भने कुल लागत २ अर्ब ८ करोड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स