काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २४ गुणाबढी आवेदन परेको छ ।
आज साँझ ५ः१२ बजेसम्ममा १३ लाख ५४ हजार ८४६ आवेदकले एक करोड ५१ लाख २२ हजार २५० कित्ताका लागि आवेदन दिएको सीडीएससीले जनाएको छ ।
जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको २४.३४ गुणा बढी हो ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा ६२ हजार ११७ जनाले १०/१० कित्ता सेयर प्राप्त गर्नेछन् भने सो मध्येका २ जनाले ११ कित्ता सेयर हात पार्नेछन् । त्यस्तै, १२ लाख ९४ हजार ५८० जनाको हात रित्तो हुने देखिन्छ ।
कम्पनीले भदौ २९ गतेदेखि आज असोज २ गतेसम्म सर्वसाधारणका लागि ६ लाख २१ हजार १ सय ७२ कित्ता सेयर निष्काशन गरेको हो।
कम्पनीले यस अघि नै आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको सेयर बाँडफाँट गरिसकेको छ ।
लगानीकर्ताले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको आवेदन दिन सकिने छ । यस निष्काशनमा असोज २ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी क्यापिटल रहेको छ ।
कम्पनीले सोलुखुम्बु जिल्लाको साविक सल्लेरी गाविसमा ९.५ मेगावाट क्षमताको मध्य सोलुखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ। आयोजना प्रति मेगावाट लागत २१ करोड ९३ लाख रहेको छ भने कुल लागत २ अर्ब ८ करोड रहेको छ ।