अपि पावर कम्पनी हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अपि पावर कम्पनीले साउन ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने आज (भदौ १९ गते) अन्तिम दिन हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो ।

हाल कायम १० कित्ता सेयर बराबर नयाँ ४ कित्ता सेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ ।

हाल हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेको छ । असार २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले अपि पावर, मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २१२ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार ९१२ रुपैयाँ पुग्नेछ ।

कम्पनीले हालसम्म ८.५ मेगावाटको नौगढ गढ सानो जलविद्युत आयोजना, ८ मेगावाटको अप्पर नौगढ गढ जलविद्युत आयेजना, ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार आयोजना, १ मेगावाटको ढल्केबर सोलार आयोजना र १ मेगावाटको सिमरा सोलार आयोजना सञ्चालन गरिरहेको छ भने कम्पनीले अहिले ४० मेगावाटको अप्पर चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स